असोज २२, बारा । नेपाल पत्रकार महासङ बारा शाखाका अध्यक्ष रमेश सुवेदीको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै नेपाल प्रेस युनियन बाराले उनलाई औपचारिक रूपमा सचेत गराउने निर्णय गरेको छ ।
बुधबार बसेको युनियनको बैठकले अध्यक्ष सुवेदीको गतिविधिले पत्रकारिताको मूल मर्म, सिद्धान्त र पेशागत आचरणमा नकारात्मक असर पुर्याएको आरोप लगाएको हो । बैठकले सुवेदीले असल पत्रकारहरू संकटमा परेका बेला सहयोग नगर्ने तर गैर पत्रकारहरूलाई प्राथमिकता दिँदै विज्ञप्ति जारी गर्ने जस्ता गैरजिम्मेवार कार्य गर्दै आएको भन्दै आपत्ति जनाएको छ ।
युनियनका अनुसार सुवेदीले पत्रकार महासङको विधान विपरीत व्यक्तिगत रूपमा निर्णय लिँदै आएका छन् र पत्रकार समुदायको सहमति विना गतिविधि सञ्चालन गर्दै जिल्लाभित्रका पत्रकारहरूको प्रतिष्ठामा आँच पुर्याएको आरोप पनि लगाइएको छ ।
बैठकले चेतावनी दिंदै भन्यो, “यदि अध्यक्ष सुवेदीले आफ्नो कार्यशैली र सामाजिक सञ्जालमा देखिएको व्यवहारमा सुधार नगरेमा आवश्यक वैधानिक कदम चालिनेछ ।” युनियनले आवश्यकता परे नेतृत्व परिवर्तनको सम्भावना समेत खुला राखेको सचिव राजेश कुमार कुशवाहाले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष सुवेदीले आफैं निर्णय गरेर पत्रकारहरूकै बेइज्जती हुने गतिविधि गर्दै आएका छन्, र यस्ता कार्य अब सह्य नहुने चेतावनी युनियनले दिएको छ ।
बैठकले युनियनको सदस्यता नविकरण प्रक्रिया अघि बढाउने, नयाँ सदस्यता वितरण गर्ने र सिफारिस प्रदेश तथा केन्द्रीय कार्यालयमा पठाउने निर्णय समेत गरेको छ। साथै, महासङसँग आबद्ध सदस्यहरूको नविकरण सम्बन्धी जानकारी औपचारिक रूपमा पठाइने तयारी भएको जनाइएको छ ।
युनियनले संस्थागत संरचना र मर्यादाको पालना नगर्ने तथा पत्रकारको हितविपरीत जाने कुनै पनि नेतृत्वलाई समर्थन नदिने स्पष्ट प्रतिबद्धता जनाएको छ। युनियनका पदाधिकारीहरूले लोकतान्त्रिक विधि र पारदर्शिता कायम राख्दै पत्रकारको अधिकार, सम्मान र एकताको पक्षमा अघि बढ्ने बताएका छन् ।
अध्यक्ष श्यामबाबु प्रसाद यादवको सभापतित्वमा सम्पन्न बैठकमा केन्द्रीय सदस्य गणेश रिजाल, प्रदेश अध्यक्ष सत्यप्रसाद श्रेष्ठ, महासङका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, गुरु गौतम, निलेश तिमल्सेना, भोजराज भट्टराईलगायतका पदाधिकारी, सदस्य तथा अग्रज पत्रकारहरूको उपस्थिति थियो । सहभागीहरूले पत्रकारिताको स्वतन्त्रता, निष्पक्षता र सामाजिक उत्तरदायित्व जोगाउन नेतृत्व तहमा सचेतना अत्यावश्यक रहेको धारणा राखेका थिए ।

