Tuesday, May 26, 2026

हिंसात्मक घटनामा संलग्नलाई कारबाही गर्न रास्वपाको माग

ताजा / भरखरै प्राप्त

कार्तिक १३, बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

रास्वपा बाराका जिल्ला अध्यक्ष चन्दन स्वर्णकारले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा हिंसा, लुटपाट र आगजनीजस्ता विनाशकारी कार्यहरूको कडा निन्दा गर्दै ती घटनामा संलग्न जो कोहीलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

विज्ञप्तिमा अध्यक्ष स्वर्णकारले भनेका छन्, “कुनै पनि नेपाली नागरिकको एक थोपा रगत पनि नबगाई, संविधानअनुसार शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट अघि बढ्ने राष्ट्रिय स्वतन्त्र पार्टी कुनै पनि अवस्थामा हिंसा, लुटपाट र आगजनीजस्ता अपराधिक तथा ध्वंसात्मक कार्यलाई किमार्थ स्वीकार गर्न सक्दैन ।”

उनले आन्दोलनको नाममा हिंसात्मक गतिविधि हुनु दुःखद भएको उल्लेख गर्दै त्यस्ता घटनाबाट प्रभावित सबैप्रति सहानुभूति प्रकट गरेका छन् ।

विज्ञप्तिमा भदौ २३ र २४ का घटनापछि सरकारद्वारा पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको स्मरण गर्दै ती घटनाको सत्यतथ्य उजागर गरी दोषीमाथि तत्काल कारबाही गर्न माग गरिएको छ ।

रास्वपाले आफ्नो पार्टीको कुनै संस्थागत संलग्नता नरहेको स्पष्ट गर्दै व्यक्तिगत रूपमा पनि कुनै सदस्य संलग्न पाइए आवश्यक कानुनी कारबाहीका लागि सहजीकरण गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।

स्वर्णकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भदौ २४ गतेको घटनापश्चात राजनीतिक प्रतिशोधका नाममा मिथ्या आरोप, शंका र राजनीतिक लाभ–हानिको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई बदनाम गराउने प्रयासहरू हुँदै आएका छन्, जसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”

उनले छानबिन आयोगले पनि घटनामा संलग्नलाई तत्काल कारबाही गर्न सकिने स्पष्ट पारेको स्मरण गराउँदै सरकार र सम्बन्धित निकायहरूलाई तदारुकता देखाउन आग्रह गरेका छन् ।

रास्वपाले भदौ २३ र २४ का घटनाहरूलाई “आम नेपाली जनसमुदायका लागि पीडादायी र नमिठो स्मरण” भएको भन्दै सत्यतथ्यका आधारमा निष्पक्ष छानबिन र न्याय सुनिश्चित गर्न सरकार, सुरक्षा निकाय र सम्पूर्ण सरोकारवालालाई आह्वान गरेको छ ।

spot_img

लोकप्रिय

Related Articles