Tuesday, May 26, 2026

फेटामा बाल विवाह नियन्त्रण सम्बन्धी सामुदायिक संवाद सम्पन्न

ताजा / भरखरै प्राप्त

मंसिर ९, बारा । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा सामाजिक परिवर्तन केन्द्रको आयोजनामा फेटा गाउँपालिका ३ मा ‘बाल विवाह नियन्त्रण तथा रोकथाम’ विषयक सामुदायिक संवाद सम्पन्न भएको छ ।

महिलामा हुने विभिन्न प्रकारका हिंसा अन्त्यका लागि समुदायस्तरमै जागरूकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न महिला समूहका अध्यक्ष तथा सदस्य, सखी–महिलाको साथी संस्थाका प्रतिनिधि, स्थानीय धार्मिक अगुवा मोल्बी तथा पण्डितसहित ४६ जना सक्रिय सहभागी उपस्थित थिए ।

कार्यक्रमका सहभागीहरूले बाल विवाह भइरहेको प्रमुख कारणबारे आफ्ना धारणा व्यक्त गर्दै सांस्कृतिक तथा परम्परागत दबाब, दुवै पक्षको शिक्षाको अभाव, आर्थिक कठिनाइ, लैङ्गिक असमानता, सामाजिक सञ्जालको अनियन्त्रित प्रयोग तथा कमजोर कानुनी कार्यान्वयनजस्ता विषयलाई मुख्य कारकका रूपमा प्रस्तुत गरे । दलित महिला कृषक समूहकी अध्यक्ष राजकुमारीले “परिवारमा रहेको सांस्कृतिक–परम्परागत दबाब र शिक्षाको कमीले बाल विवाहलाई प्रश्रय दिइरहेको” बताइन् ।

त्यस्तै, सुलेहा खातुनले सामाजिक सञ्जाल र अनलाइन माध्यममा देखिने गलत प्रभावहरूले पनि बाल विवाहका घटनामा वृद्धि भएको धारणा राखिन् । सहभागी हाजरा खातुनले “छोरीलाई छिटो विवाह गराइदिए सुरक्षित हुन्छ” भन्ने समाजमा व्याप्त मिथक अझै चुनौतीका रूपमा रहेको उल्लेख गरिन् । गरीबी, शिक्षा अभाव, परम्परागत मान्यताहरू र कानुनी कार्यान्वयन कमजोर हुनु प्रमुख कारण रहेको सहभागी हसमोदिन अन्सारीको भनाइ थियो। स्थानीय सरकारका प्रभावकारी कार्यक्रम र अनुगमन अभावले रोकथाम कठिन बनेको नरेन्द्र पान्डेले बताए ।

संवादका क्रममा बाल विवाह रोकथामका लागि महिला समूह, विद्यालय, स्थानीय अगुवा तथा समुदायबीच सहकार्य आवश्यक रहेको सहभागीहरूले जोड दिए । बाल विवाहलाई बहुआयामिक सामाजिक समस्या मान्दै उनीहरूले समुदायमै आधारित नियमित सचेतना कार्यक्रम, आर्थिक सशक्तीकरण, शिक्षा विस्तार, कानुनी प्रक्रियाको प्रभावकारी कार्यान्वयन तथा सामाजिक सोचमा सकारात्मक परिवर्तनलाई दीर्घकालीन समाधानका अनिवार्य पक्षका रूपमा औँल्याए ।

कार्यक्रमको सहजीकरण सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि बिक्की कुश्वाहाले गरेका थिए । उनले बाल विवाहका कारण, प्रभाव तथा रोकथामबारे समुदायभित्रै छलफल र समाधान खोज्ने उद्देश्यले यस्तो संवाद आयोजना गरिएको बताउँदै प्रभावकारी परिवर्तनका लागि सामुदायिक सक्रियता अत्यावश्यक रहेको उल्लेख गरे ।

spot_img

लोकप्रिय

Related Articles