Tuesday, May 26, 2026

नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए सपथ

ताजा / भरखरै प्राप्त

काठमाडौं ।। नवनियुक्त प्रधानन्यायाधीश मनोजकुमार शर्माले पद तथा गोपनीयताको सपथ लिएका छन् । शीतल निवासमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश शर्मालाई सपथ गराएका हुन् । त्यसअघि संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएपछि शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएका थिए । उनी मुलुकको ३३ औं प्रधानन्यायाधीश बनेका हुन् । संवैधानिक परिषदले वैशाख २४ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णय गरेको थियो । संवैधानिक परिषदले चौथोवरीयतामा रहेका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । पर्साको वीरगञ्जमा २०२७ असार ४ गते जन्मिएका शर्मा कानुन व्यवसाय र न्यायिक क्षेत्र दुवैमा सक्रिय रहँदै आएका व्यक्ति हुन् । उनले नेपाल ल क्याम्पसबाट बीएल अध्ययन पूरा गरेका हुन्। त्यसपछि भारतको पुणे विश्वविद्यालयबाट एलएलएम तथा त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुन विषयमा विद्यावारिधि हासिल गरेका छन् । डा. शर्मा २०५२ सालदेखि कानुन व्यवसायमा संलग्न रहँदै आएका छन् । उनले विभिन्न कम्पनी तथा संस्थामा कानुनी सल्लाहकारको भूमिकासमेत निर्वाह गरेका छन्। न्यायिक क्षेत्रमा उनले २०७० जेठ २७ देखि २०७२ मंसिर २६ सम्म तत्कालीन पुनरावेदन अदालत बुटवल र पाटनमा न्यायाधीशका रूपमा काम गरेका थिए । उनी २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । कानुन व्यवसाय, श्रमकानुन अध्ययन र न्यायिक अनुभवका कारण उनलाई न्याय क्षेत्रका अनुभवी व्यक्तित्वका रूपमा चिनिन्छ ।

spot_img

लोकप्रिय

Related Articles