असार १६, बारा । राज्य सेवा नामक पवित्र संस्थामा बसेका कतिपय कर्मचारी जब जनताको करबाट तलब खाएर जनतालाई नै कुट्न पुग्छन्, तब त्यो राष्ट्रको नैतिक ढाँचा कति कमजोर छ भन्ने कुरा उजागर हुन्छ । बाराको पूर्वाधार विकास कार्यालयमा कार्यरत लेखापाल मुकेश प्रजापतीले चलाएको ‘कमिशन ताण्डव अहिले त्यसको स्पष्ट प्रमाण बनेको छ ।
कमिशन नदिए फाइल हराउने, कमिशन दिए तुरुन्त भुक्तानी—प्रजापतीको यही खेल आइतबार सरेआम देखिएको छ । सिम्रौनगढ नगरपालिका वडा नम्बर २ का सेवाग्राही सुनिल कुमार कुशवाहाको फाइल, जो एक वर्षदेखि कार्यालयमा थियो, अचानक गायब बनाइयो । कुशवाहाले विरोध जनाएपछि लेखापालले जवाफ दिनुको सट्टा बाउन्सर लगाएर गालीगलौज र हातपात गरे, जुन घटना अहिले भिडियोसहित सार्वजनिक भइसकेको छ ।
कमिशन संस्कृतिको दीर्घकालीन च्यानल
प्रजापतीको भ्रष्ट चरित्र कुनै नयाँ होइन । यातायात कार्यालय बारामा कार्यरत रहँदा उनले दलालहरूमार्फत लाइसेन्स, फाइल पासिङ, र अन्य सेवामा कमिशन उठाउने धन्दा चलाएका थिए । “दुई हजार पनि नछाड्ने” लेखापालले हरेक काममा आफ्नो हिस्सा खोज्ने र नपाएसम्म काम अवरुद्ध गर्ने शैली त्यहीँबाट सुरु भएको थियो । स्रोतहरू भन्छन्—उहाँ आफ्नो भागको रकम डायरीमा टिपोट गरेर राख्ने गर्दथे ।
पूर्वाधार विकास कार्यालयमा सरुवा भएपछि पनि उस्तै शैलीमा दलालहरूको नेटवर्क प्रयोग गर्दै, तत्कालीन कार्यालय प्रमुख राजेन्द्र साहसँग मिलेर उनले कमिशनशक्ति विस्तार गरे । अहिले प्रमुखको रूपमा रहेकी रिम्पु कुमारी यादव भने रबर स्टाम्पको भूमिकामा सीमित भएकी छन् ।
कुशवाहामाथिको दुर्व्यवहारको निर्देशन लेखापाल प्रजापतीबाट आएको बताइएको छ । तर कार्यान्वयनमा उतरेका थिए सब–इन्जिनियर प्रभात सिंह र युवासंघ जिल्ला अध्यक्ष सद्दाम अंसारी । यी दुई जनाले कार्यालयभित्रै सेवाग्राहीमाथि शारीरिक र मानसिक आक्रमण गरेका छन्, जसले देखाउँछ कि पूर्वाधार कार्यालय सेवाको केन्द्र होइन, दादागिरी र भ्रष्टाचारको अखाडा बनिसकेको छ ।
यता लेखापाल प्रजापतीले भने फाइल हराउनुमा आफ्नो संलग्नता अस्वीकार गर्दै, प्राविधिक दीपेन्द्र साहमाथि दोष थोपरेका छन् । उनले फाइल आफ्नै जिम्मामा नभएको, भुक्तानी सम्बन्धी सबै कागजातहरू दीपेन्द्र साहलाई बुझाइएको दाबी गरेका छन् । तर यो कसरत आफू बच्न बनाइएको रणनीति मात्र भएको देखिन्छ, किनकि पीडित सेवाग्राहीको भनाइ, कार्यालयभित्रको प्रष्ट आधार, र भ्रष्ट अभ्यासका पुराना रेकर्डहरूले उनको संलग्नता पुष्टि गर्छ ।
सहमति र संरक्षणको साम्राज्य
पूर्वाधार कार्यालयमा सरुवा भएपछि पनि उनले कमिशनको मेसो त्यही ढाँचामा अगाडि बढाए । निलम्बनमा परेका तत्कालीन कार्यालय प्रमुख राजेन्द्र साहसँगको सेटिङमार्फत उनी पुनः सक्रिय बने । अहिले कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिरहेकी रिम्पु कुमारी यादव रबर स्टाम्पू मात्र बनिरहेकी छन्, जसले प्रजापतीको गतिविधिमा मौन समर्थन जनाउँदै आएकी छिन् ।
यति मात्र होइन, सब–इन्जिनियर प्रभात सिंह र युवासंघ जिल्ला अध्यक्ष सद्दाम अंसारी जस्ता पात्रहरू लेखापाल प्रजापतीका संरक्षणदाता बनेका छन् । उनीहरूको संरक्षणमा नै कुशवाहामाथि कार्यालयभित्रै दुर्व्यवहार गरिएको पुष्टि भएको छ । अब यस्ता भ्रष्ट कर्मचारी र तिनलाई संरक्षण दिने संरचनाको ढाड भाँचिने बेला आएको छ । राज्यले यदि यिनको विरुद्ध कडा कारबाही गर्न सक्दैन भने, जनताको आक्रोश व्यवस्था विरोधमा विस्फोट हुन बेर लाग्दैन ।

