असार १७, बारा । बाराको कोल्हवीबाट चोरी भएका पाँच वटा मोटरसाइकल सहित ३ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरीको टोलीले विभिन्न ठाउँबाट हराएका मोटरसाइकलहरूको खोजी गर्दै जाँदा ती मोटरसाइकलहरू विभिन्न व्यक्तिहरूको साथबाट फेला पारी बरामद गरेको हो ।
मोटरसाइकल हराएको तथा चोरी भएको भन्दै पीडितहरूले इलाका प्रहरी कार्यालय कोल्हवीमा निवेदन र दिएको जाहेरीका आधारमा प्रहरी निरीक्षक रंजन मिश्रको कमाण्डमा खटिएको टोलीले खोजतलास गर्दा मोटरसाइकल सहित तीन जना व्यक्तिहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा कोल्हवी नगरपालिका वडा नम्बर १ का २१ वर्षीय राहुल बिक, २३ वर्षीय अर्जुन खवास र २३ वर्षकै मुस्कान चौधरी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मानिसहरुको साथबाट प्रहरीले प्र.२–०३–००६ प ६५१५ नम्बरको १२५ सि.सि. क्षमताको होण्डा कम्पनीको साइन मोटरसाईकल, ना. ४८ प ६९७० नम्बरको टिभिएस कम्पनीको कालो रङको आरटिआर २००, बा ९४ प २१४६ नम्बरको बजाज कम्पनीको २२० सिसि क्षमताको निलो रङको पल्सर,ना ६५ प ८८६० नम्बरको टिभिएस कम्पनीको रातो कालो रङको स्ट्राइकर, प्रदेश २–०३–००५ प ६२२६ नम्बर टिभिएस कम्पनीको निलो रङको स्ट्राइकर मोटरसाइकल बरामद गरेको हो ।
पक्राउ परेकाहरूमाथि चोरी सम्बन्धी कसुरमा बारा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोल्हवीले जनाएको छ ।

