बहुचर्चित गौर राईस मिल्सको जग्गा बेच्न पाइदैन, भु माफिया सबधान लगायतका नगरप्रमुख विरुद्ध चर्का नारा लगाउदै युवाहरु संगै केही राजनीतिक दलका नेताहरुले रौतहट सदरमुकाम गौरमा नाराबाजी गरेका छन् ।

रौतहट क्षेत्र नम्वर १ (क) बाट प्रदेश सभा सदस्य नागेन्द्र साह, काँग्रेस नेता मोहन यादव, एमाले युवा नेताहरुमा बजरंगी गुप्ता, मिथिलेश झा, राप्रपाका नेता विक्रान्त नेपाल (पालु), गौर नगरका पूर्व वडाध्यक्षहरु, स्थानीय युवाहरुले गौर राइस मिल्सको जग्गा रौतहटबासीको धरोहर रहेको हुँदा कसैले बेच्ने जमर्को नगर्न चेतावनी दिदै यदी त्यस्तो भयो भने ठूलो विद्रोह हुने सोको जिम्मेवार गौर नगरपालिकाका र नगरप्रमुख हुने बताए ।
गौरको विपी चोकमा कोर्ण सभापछि सुरु भएको विरोध जुलुश अदालत, जिल्ला प्रशासन, खानेपानी हुँदै गौर नगरपालिकाको कार्यालय अगाडी आएर चर्का नाराबाजी गरे । नाराबाजी पश्चात गौर राइस मिल्स जग्गा बचाउ समितिले नगरप्रमुख शम्भु साहलाई ज्ञापन पत्र बुझाउदै युवा नेता बजरंगी गुप्ताले यदी भुलबस विक्री गर्ने निर्णय भएको छ भने नगरवासीको हितमा उक्त निर्णयलाई सच्याउन आग्रह गर्दै यदी त्यसो नभएपछि हामी चरणबद्ध रुपमा संघर्ष गर्न बाध्य हुने छौं । त्यसको सम्पूर्ण जिम्मेवार नगरप्रमुख र नगरपालिका हुने बताए ।

नाराबाजी गर्दै राईस मिल्स जग्गा बचाउ समितिले जिल्ला प्रशासन कार्यालयमा गएर सहायक प्रमुख जिल्ला अधिकारी नविन यादव समक्ष पनि ज्ञापन पत्र बुझाए ।
गौर नगरपालिकाका मेयर कै संगलन्तामा गौरको राइस मिल बिक्री हुने तैयारी भएको स्थानिय पत्रकार प्रवीण टिबडेवालले २ साता पहिले नै आफ्नो फेसबुक मार्फत सचेत गराए पनि सो वखत स्थानियले टिबडेवालको स्टेटसलाई बेवास्ता गरेका पछी मंगलवार संचारकर्मी टिबडेवालले प्रमाण नै सार्वजनिक गरेका थिए । टिबडेवालले नगरप्रमुख को संगलन्ता सहितको प्रमाण सार्वजनिक गरे लग्तै गौर लगायत रौतहटको माहोल तातिएको थियो ।

