फिल्म उद्योगमा कतिपय फिल्महरू मुख्य अभिनेताको प्रभाव र लोकप्रियताका कारण सुपरहिट हुने गर्छन्। यस्तै प्रभावशाली कलाकारमध्ये एक हुन् कन्नड फिल्म उद्योगका रकिङ स्टार यश।
पछिल्ला दुई फिल्म ‘केजिएफ-१’ र ‘केजिएफ-२’ ले उनलाई अन्तर्राष्ट्रिय चर्चामा पुर्याएको छ। ‘केजिएफ-२’ ले ३० भन्दा बढी रेकर्ड तोड्दै हलहरूमा हालसम्म प्रदर्शन जारी राखेको छ। यशले आफ्नो पहिलो ब्लकबस्टर फिल्म ‘मिस्टर एन्ड मिसेस रामाचारी’ बाट स्टारडम पाएका हुन्।
यशको असली नाम नवीनकुमार गोडा हो। कर्नाटकको वुभनहल्ली गाउँमा जन्मेका यशले तीन सय भारू बोकेर बैंगलुरूमा संघर्ष सुरु गरेका थिए। उनका बुबा बस चालक र आमा गृहिणी हुन्। परिवारको सर्तमा अभिनयमा करियर बनाउन प्रयास गरेका यशले टिभी सिरियलबाट अभिनय सुरु गरेका थिए।
सन् २०१३ मा ‘राजा हुली’ सुपरहिट भएपछि उनको करियरले गति लियो। त्यसपछि २०१४ को ‘मिस्टर एन्ड मिसेस रामाचारी’ ले उनलाई स्टारडममा पुर्यायो। यो फिल्मले १८ अवार्ड जित्दै कन्नड फिल्म उद्योगमा नयाँ उचाइ हासिल गरेको थियो।
आज, यशलाई स्यान्डलवुडका रकिङ स्टार मानिन्छ। उनीसँग ५० करोड भारूभन्दा बढी सम्पत्ति छ। ‘केजिएफ’ जस्ता ब्लकबस्टर फिल्महरूले उनलाई विश्वभरका दर्शकमाझ लोकप्रिय बनाएको छ।
‘मिस्टर एन्ड मिसेस रामाचारी’ सामान्य प्रेम कथा भए पनि यशको अभिनय, एक्सन, र संवादले यसलाई विशेष बनाएको छ। यो पारिवारिक फिल्म मनोरञ्जन चाहनेका लागि राम्रो रोजाइ बन्न सक्छ।

