परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका हिमाली क्षेत्र र त्यहाँका समुदायमा जलवायु परिवर्तनको गहिरो असरबारे थप अनुसन्धान गर्न अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाहरुलाई आह्वान गरेकी छन्।
जर्मनीको पोट्सडामस्थित जलवायुसम्बन्धी अनुसन्धान केन्द्रमा भएको अन्तरक्रियाका क्रममा मन्त्री देउवाले नेपाल जलवायु परिवर्तनको जोखिममा परिरहेको उल्लेख गर्दै यसको समाधानका लागि थप सहयोग र अनुसन्धान आवश्यक रहेको बताइन्।
यस क्रममा बाढीपहिरो नियन्त्रणका लागि पूर्व चेतावनी प्रणाली, हिमाली क्षेत्रका जल चक्र, र ग्रामीण महिलाहरु एवं बालबालिकामा पर्ने असरबारे चर्चा भएको थियो। मन्त्री देउवाले नेपालले जलवायु न्याय र पर्वतीय संरक्षणको पक्षमा अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरी काम गरिरहेको जानकारी दिइन्।
छलफलमा जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीसहित अन्य विज्ञहरूको उपस्थिति रहेको थियो।

