बाराको कलैया उपमहानगरपालिकामा वडा स्तरीय बजेटमा छुट्याईएको लक्षित वर्गको कार्यक्रम २५ प्रतिशत कमिशनमा विक्रि भएको पाईएको छ ।
कलैया उपमहानगरपालिका वडा नम्बर १४ मा वडा स्तरीय बजेटबाट आज मंगलबार देखि सुरु भएको एक महिने ब्युटीशियन तालिम २५ प्रतिशत कमिशनमा बिक्रि भएको पाईएको हो ।
सुन्दर नेपाल नामक गैह्र सरकारी संस्थाले मंगलबार बाट सुरु गरेको लक्षित वर्गको कार्यक्रम अन्तर्गतको ब्युटीशियन तालिम वडा बाट २५ प्रतिशत दिएर खरिद गरेको संस्थाका अध्यक्ष शिवबालक राय अहिरले बताएका छन् । अध्यक्ष अहिरका अनुसार वडा अध्यक्ष संग २५ प्रतिशत रकम दिने सहमति भएको हो । अध्यक्ष अहिरले बताए अनुसार प्रतिशतको सेटिंग मिलाउने सम्पूर्ण काम कलैया उपमहानगरसपालिकाका राजश्व शाखाका कर्मचारी तैयब अंसारीले गरेका हुन् ।
तर यस बिषयमा राजश्व फाँटका कर्मचारी तैयब अंसारीले आफु पुलको काम मात्र गरिदिने गरेको बताएका छन् । कसैलाई कामको आवश्यक्ता पर्दा आफु मिलाईदिने काम मात्र गरेको उनले बताएका छन् ।
कुल २ लाख रुपैैया बजेट रहेको उक्त तालिम आज मंगलबार बाट विधिवत रुपमा १४ नम्बरका वडा अध्यक्ष सुरेन्द्र जयसवालले उद्धघाट्न गरेका छन् । बघवन, भौंरा, जितपुर र लक्ष्मिनिया गरी ४ टोलका २२ जना यूवतीहरुको सहभागिता रहेको उक्त तालिम एकमहिना सम्म संचालन हुने आयोजक संस्थाका अध्यक्ष शिवबालक राय अहिरले बताएका छन् ।

यसरी हुन्छ सेटिंग
यदी कलैया उपमहानगरपालिकामा कुनै किसीमको निर्माण वा लक्षित वर्गको कार्यक्रम कुनै फर्म वा संस्थालाई गर्नुछ भने सुरुमा राजश्व फाँटका कर्मचारी तैयब अंसारीसंग पहिलो चरणको भेट गर्नुपर्दछ । पहिलो चरणको भेटमा कमिशनको कुरा मिलेपछि अंसारीले दोस्रो चरणमा सम्बन्धीत वडाका वडा अध्यक्षसंग कुरा मिलाउने काम गर्दछन् । त्यसपछि वडा अध्यक्ष र अंसारीको कुरा मिलेपछि फर्मका प्रोप्राइटर वा संस्थाका अध्यक्षले अंसारीले भने अनुसार कागजपत्र मिलाउने काम गर्नुपर्दछ । कागजपत्र मिलाउने काम सकेपछि अन्तिम चरणमा सम्झौता हुने गरेको छ ।

