बाराको कलैयामा रहेको बसपार्क बैशाख २ गतेदेखी पूर्ण रुपमा सञ्चालन हुने पक्का भएको छ । आज आईतबार बारा उद्योग वाणिज्य संघको सभाहलमा प्रमुख जिल्ला अधिकारी सहितको सर्वपक्षीय अन्तरक्रियाबाट निर्णय भएको हो ।
बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बसपार्क सञ्चालन गर्न अग्रसरता देखाएपछि बसपार्क संचालन हुन थालेको हो । आईतबार उद्योग वाणिज्य संघको सभाहलमा कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष तामांग, उद्योग वाणिज्य संघका पदाधिकारी, बस व्यवसायी, टेम्पो, ईरीक्शा, म्याजिक व्यवासयी लगायत सरोकारवालाहरुको रोहबरमा भएको निर्णायक अन्तरक्रिया बाट सबैले सहमती गरेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनु भएको छ ।
प्रजिअ अधिकारीका अनुसार बैशाख २ गते बाट बसपार्क संचालन गरिने र तत्कालका लागि त्यसको व्यवस्थापनको जिम्मेवारी उद्योग वाणिज्य संघ बाराका उपाध्यक्ष प्रदिप साह गोल्डेन, बस व्यवसायी संघका अध्यक्ष अच्युत पौडेल र बस व्यवसायी आमोद साहले ट्राफिक संग सहकार्य गरी गर्ने सहमति भएको हो ।
कलैयाको भरतचौकमा देखिएको ट्राफिक समस्यालाई समाधान गर्नका लागि बसपार्कलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनुपर्ने अवस्था देखेर प्रमुख जिल्ला अधिकारी आफै लागेका हुन् । बसपार्क सञ्चालनमा आईसकेपछि भरतचौक व्यवस्थित र सुन्दर हुने प्रमुख जिल्ला अधिकारीको दाबि रहेको छ ।

