जेठ २४, बारा । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ मा निर्माण भइरहेको कालोपत्र सडकको काम गुणस्तरहीन रहेको पाईएको छ। पत्रहट्टी अस्पताल देखि बार्वा–पर्सा जोड्ने करिब १ किलोमिटर लामो कालोपत्रे सडकको निर्माण कार्य गुणस्तरहिन देखिएको हो ।
निर्माण कार्य नसकिदै कालोपत्र हातले नै उप्किन थालेपछि स्थानीयहरुले गुणस्तरहिन कामको विरोध जनाएका छन् । १० दिन पहिला गरिएको कालोपत्रे सडक अलकत्रा सहित उप्किन थालेपछि स्थानीयहरुले विरोध गरेका हुन् ।
सघन सहरी तथा भवन निर्माण आयोजना वीरगंज पर्सा बाट ६२ लाख २५ हजार ७ सय १० रुपैयामा भ्याट सहित ठेक्का लिएको भगवती श्री राधेमाई निर्माण सेवा वीरगंजले निर्माण गरिरहेको उक्त सडकको काम गुण्स्तरहिन भएको हो ।
स्वास्थ्य चौकी पत्रहट्टीदेखि बर्वा–पर्सासम्म भएको कालोपत्रे उप्किन थालेको स्थानीय विक्रमप्रसाद यादवले आरोप लगाएका छन् कालोपत्रे गरिएको सडकमा १० दिन भित्रै ढुङ्गा निस्केको उनले बताए । निर्माण कम्पनीले सडक बनाउन गुणस्तरहीन सामग्री प्रयोग गरेको तथा लापरवाही गरेको भन्दै यादवले गुणस्तर जाँच गर्न माग गरेका छन् । यादवका अनुसार सडक बनाउने बेला बेसमा मात्र बालुवा हालेर कालो पत्रे राखी बिना रोलर चलाई उक्त सडक निर्माण गरिएकाले सडक उप्किएको हो ।
तर यता ठेक्केदारले आफु गुणस्तरीय काम गरेको दावि गरेका छन् । निर्माण सेवाका प्रोपराइटर नन्दराज सरार्फले सडकको साइडबाट उप्काउँदा जस्तो कालोपत्रे पनि उप्किने हुनाले हल्लाको पछाडि नलाग्न स्थानीयलाई अनुरोध गरेका छन् । सब–बेस १५ सेन्टी,बेस–१५ सेन्टी र प्रिमिस –३ सेन्टी गरी १ सय ३८ घनमिटर कालोपत्र सडक निर्माण भइरहेको यस सडकमा यदि गुणस्तरहीन काम भएको छ भने इन्जिनियर संग ल्याब चेक गराउन चुनौती दिए ।
यता सघन शहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर मुकेश यादवले कालोपत्रे सडकको गुणस्तर जाँच गर्न बाँकी रहेको बताएका छन । उनले “सडकको कोर कटिङगरी गुणस्तर मापन हुन्छ” उनले भने। “यदि गुणस्तर नपुगेको देखिन्छ भने निर्माण कम्पनीले सुधार गर्नुपर्छ । गुणस्तरहीन निर्माण भएको आरोप लगाउनेको रोहबरमा कालो पत्रे सडकको कोर कटिङ्ग गर्ने बताए।

