Tuesday, May 26, 2026

गौर भन्सार नाकामा तस्कर र सुरक्षाकर्मीको साँठगाँठ

ताजा / भरखरै प्राप्त

असोज ०५, रौतहट । चार्डपर्व नजिकिँदै गर्दा रौतहटको गौर भन्सार नाकाबाट तस्करी मौल्याएको छ ।

गत महिना देश राजनीतिक अस्थिरता र जेन–जेड आन्दोलनको प्रभावमा अर्थतन्त्र झनै नाजुक बनेको बेला अन्तरिम सरकारले सीमाक्षेत्रमा अवैध कारोबार नियन्त्रण गर्न स्पष्ट निर्देशन दिएको थियो । तर गौर भन्सारसहितका सहायक नाकामा खटिएका शसस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारीहरूले त्यसलाई वेवास्ता गर्दै तस्करीलाई नै संरक्षण दिएको आरोप बढेको छ ।

गौर–बैरगनिया मुख्य नाकामा सुरक्षाकर्मीले दिनभर सामान्य व्यापारी र यात्रुलाई अनावश्यक दुःख दिने गरेको छ तर बेलुकी ७ बजेपछि तस्करलाई खुला छुट दिने गरेको स्रोतको दाबी छ । भन्सार कार्यालयको १०० मिटर पूर्वमा रहेको सहायक नाका तथा बिओपी पोस्टमा ड्युटी नै नगरी बिहान र राति तस्करी सहज हुने वातावरण मिलाइएका घटना उजागर भएका छन् ।

स्रोतका अनुसार दिनमा पोको–पोको सामान पार गर्ने तस्करहरूले बेलुकीपख ई–रिक्सा र टेम्पोमार्फत कपडा, हार्डवेयर, जुत्ता–चप्पलसहितका भन्सार छलिएका सामान चर्को ‘ड्युटी खर्च’ तिरेर गौर बजारका पसलसम्म पुर्‍याउने गरेका छन् ।

गत महिना गौर नजिकैका किराना पसलमा शसस्त्र प्रहरीले छापा मार्दा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद भएका थिए । तर त्यही सामान सुरक्षाकर्मीहरूको सेटिङमै भित्रिएको र पछि छापा मारेर व्यापारीलाई धरापमा पार्ने नियतसहित खेल भएको व्यापारीहरूको आरोप छ ।

गौर भन्सार नाकाबाट मुस्कान, नगमा, चतरी, रौशन, सातसहेलिया, किरणिया ममता, अंसु, नगिनिया, परमदेवीलगायतका कुख्यात तस्करहरू सक्रिय रहेको बताइएको छ । यस्तै, गौरकै पश्चिम महादेवपट्टी र पूर्व लक्ष्मीपुर–बेलबिक्षवा नाकाबाट बिहारमा प्रतिबन्धित मदिरा समेत नियमित रूपमा तस्करी भइरहेको छ ।

गौर भन्सारमा खटिएका शसस्त्र प्रहरी नायव उपरीक्षक गान्दिप राज स्याङ्ताङको फितलो नेतृत्वका कारण तस्करहरू निर्भीक बनेको आरोप पनि उत्रिएको छ । साथै बंजरहा, जयनगर, लतमडी, महुलिया, रामपुर खाप, राजपुर, खापघिउरा, बंकुललगायत दर्जनौँ सहायक नाकाबाट समेत प्रहरी–भन्सार सेटिङमा खुलेआम तस्करी भइरहेको बताइएको छ ।

यस विषयमा बुझ्न खोज्दा शसस्त्र प्रहरी गुल्मका प्रमुख र ११ नम्बर गणका प्रमुखले भने हाम्रो सूचना अधिकारीसँग सम्पर्क राख्नुस भन्दै पन्छिएका छन ।

spot_img

लोकप्रिय

Related Articles