काठमाडौँ – ज्यान मार्ने उद्योगका अभियुक्त चार जनालाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको छ।
पक्राउ पर्नेमा लम्जुङ घर भएका काठमाडौँका नागार्जुन नगरपालिका-१ का २० वर्षीय सुमित तामाङ र सुसन तामाङ, धादिङ घरका नागार्जुन नगरपालिका-१ का २५ वर्षीय उम्बे गुरुङ (उमेश गुरुङ) र कान्छा (आशिष गुरुङ) रहेका छन्।
उनीहरूले गत भदौ ३० गते साँझ काठमाडौँको गोंगबुस्थित क्रेजी चिया भट्टीमा रुपेश गुरुङ र सागर तामाङमाथि ज्यान लिने उद्देश्यले काठ, फलामको कुर्सी, हेलमेट र सिसाको बोतल प्रहार गरी गम्भीर घाइते बनाएका थिए। यस घटनामा असोज ६ गते प्रहरी वृत्त महाराजगन्जमा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो।
प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेर पक्राउ गरेको हो। पक्राउ परेका प्रतिवादीलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको आचार्यले जानकारी दिएका छन्।

