काठमाडौँ – उदयपुरको वेलका नगरपालिका वडा नम्बर ९ मा पुनः मत गणना गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।
मतगणना स्थगित भए पछि दलहरूले बदर मत बढाएको भन्दै गए राति १ बजेदेखि गणना रोकिएको थियो। सोमबार बिहान सर्वदलीय बैठकको प्रयास पनि असफल भएपछि निर्वाचन अधिकृतले आयोगसँग सहयोग मागेका थिए।
प्रमुख जिल्ला निर्वाचन अधिकृत दीपक दाहालका अनुसार, “सर्वदलीय बैठकमा सहमति नजुटेपछि आयोगसँग पुनः गणना गर्नका लागि सहयोग मागेका थियौँ। आयोगको निर्देशनपछि दलहरूलाई जानकारी गराएका छौं।”
मतगणनामा पाँच सय मतमध्ये २२० मत बदर भएपछि गणना स्थगित गरिएको थियो। विवादको कारणले गर्दा दलहरूले निर्देशिकाविपरीत सदर हुनुपर्ने मतलाई पनि बदर गणना गर्न दबाब दिएका थिए।
सोमबार बिहान बैठकमा माओवादी केन्द्रले गणना पुनः सुरू गर्नुपर्ने माग राखे पनि एमालेले गणना भइसकेका मतलाई मात्र मान्ने अडान राखेको थियो।
वेलका ९ मा वडाध्यक्षका लागि उपनिर्वाचन भएको हो। यसअघि नेपाली कांग्रेसका पदम खड्काको सडक दुर्घटनामा मृत्यु भएपछि यो पद रिक्त भएको थियो।
कांग्रेसबाट नवराज बस्नेत, एमालेबाट मोहन खड्का, माओवादीबाट भरत घिमिरे र रास्वपाबाट तेजमान विश्वकर्मा चुनावी मैदानमा छन्।

