रौतहट, जेठ २० ।। नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यसहित रौतहटमा घरमै पासपोर्ट वितरण सेवा सुरु भएको छ। जिल्ला हुलाक कार्यालय रौतहटमार्फत सेवाग्राहीले अब आफ्नै घरमा पासपोर्ट प्राप्त गर्न सक्ने भएका छन्।
राैतहटकाे गौर नगरपालिका वडा नं. २ निवासी राजु रामकाे पासपोर्ट पहिलाे पटक उहाँको घरमै पुगेर प्रदान गरिएको ।
रोजगारीका सिलसिलामा भारतको गुजरातमा रहेका रामको पासपोर्ट रामकाे आमा गुडिया देवीलाई घरमै पुगेर हस्तान्तरण गरिएको जिल्ला हुलाक कार्यालय कार्यालय राैतहटका प्रमुु देवनाथ यादबले जानकारी दिनु भएको छ ।
सेवाग्राहीलाई घरमै पुगेर रामकाे आमालाई पासपोर्ट हस्तान्तरण गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले पासपोर्ट घरमै पुर्याउने सेवाको औपचारिक शुभारम्भ गर्नु भएको छ । सरकारी सेवाको पहुँच नागरिकको घरदैलोसम्म विस्तार गर्ने नीतिअनुरूप पासपोर्ट घरमै पुर्याउने सेवा सञ्चालनमा ल्याइएको प्रजिअ भुसालले बताउनु भएको छ ।
पासपोर्ट घरमै प्राप्त गरेपछि खुसी व्यक्त गर्दै गुडिया देवीले नयाँ व्यवस्थाले सर्वसाधारणलाई ठूलो सहजता प्रदान गरेको प्रतिक्रिया दिनुभयो।
विशेषगरी रोजगारी तथा अन्य कारणले घरबाहिर रहेका नागरिकका परिवारलाई यस सेवाबाट प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
हुलाक सेवामार्फत पासपोर्ट वितरण व्यवस्था लागू भएपछि सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै कार्यालय धाउनुपर्ने झन्झट पनि कम हुने विश्वास गरिएको छ। सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र नागरिकमैत्री बनाउने दिशामा यो कदम महत्वपूर्ण मानिएको छ।

