काठमाडौं – गायिका तथा कम्पोजर लक्ष्मी हमालले आफ्नो नयाँ फिल्मी गीत ‘हे गोरी’ सार्वजनिक गरेकी छन्। केही समयअघि सोलो गीत ‘राख तिम्रो मुटुभित्र’ ल्याएकी उनले अहिले मौलिक शैलीको यो गीत श्रोता तथा दर्शकमाझ ल्याएकी हुन्।
गीतको म्युजिक भिडियो पूर्वी तराईका विभिन्न स्थानहरूमा छायाङ्कन गरिएको छ। भिडियोमा सुधिर श्रेष्ठ र मल्लिका राजोपाध्याय मुख्य भूमिकामा देखिएका छन् भने द्वन्द्वात्मक दृश्यमा सुगत कारन्जित र जतिन ताम्राकारको पनि उपस्थिति रहेको छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रसान्त तामाङले गरेका छन्।
गीतमा शब्द, संगीत, र फिमेल भोकल लक्ष्मी हमाल आफैले दिएकी छन्। मेल भोकल गायक हिमाल सागरले दिएका छन्। अडियो अकोष्टिक नेपालले रेकर्ड गरेको हो। एरेन्ज साहस शाक्यले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश मिश्राले गरेका छन्।
म्युजिक भिडियोको पोष्ट प्रोडक्सन सांग्रीला क्रियशनले गरेको छ। ‘हे गोरी’ ले नेपाली मौलिक गीतसंगीतको रौनक थप्ने अपेक्षा गरिएको छ।

