Tuesday, May 26, 2026

दुर्गा प्रसाईँको दाबी: प्रधानमन्त्रीको कागजात मैले बनाएको होइन, कम्बोडियाबाट प्राप्त गरेको हुँ

ताजा / भरखरै प्राप्त

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धका कागजात, भिडियो, र फोटोहरू आफूले सिर्जना नगरेको बताएका छन्। विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरको अनुसन्धानका क्रममा उनले ती सामग्री आफूलाई कम्बोडियामा बस्ने एक नेपालीले पठाएको दाबी गरेका हुन्।

प्रसाईँले बयानमा भनेका छन्, “जनतालाई सत्य जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरी मिडियाका साथीहरूलाई ती सामग्री देखाएको हुँ। ती प्रमाण मैले बनाएको होइन, कम्बोडियाबाट पठाइएका हुन्।”

कम्बोडियाबाट प्रमाण प्राप्त भएको दाबी
दुर्गा प्रसाईँले खड्गप्रसाद शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट आजियाटा कम्पनीमा लगानी रहेको विषयमा कम्बोडियाबाटै प्राप्त कागजातहरू सार्वजनिक गरेको उल्लेख गरेका छन्। ती कागजात, भिडियो, र फोटो आफूलाई कम्बोडियामा बस्ने एक नेपालीले फोन तथा व्हाट्सएपमार्फत उपलब्ध गराएको प्रसाईँको भनाइ छ।

उनका अनुसार, उक्त व्यक्तिले प्रधानमन्त्री ओलीले २०१९ मे १४ मा कम्बोडियाको एक व्यापारिक कार्यक्रममा भाग लिएको र त्यही क्रममा स्मार्ट आजियाटा कम्पनीको सेयर खरिद गरेको दाबी गरेका थिए।

भ्रष्टाचार र लगानीमाथि प्रश्न उठाउँदै प्रसाईँ
दुर्गा प्रसाईँले भ्रष्टाचार र राजनीतिक अस्थिरता बढ्दै गएको बताउँदै आफ्नो अभियानको उद्देश्य जनतालाई यस्ता विषयमा जानकारी गराउनु रहेको दाबी गरेका छन्। उनले भने, “प्रधानमन्त्रीजस्तो व्यक्ति व्यापार वा उद्योगमा संलग्न नभएको अवस्थामा यति ठूलो लगानी कहाँबाट आयो भन्ने विषयमा जनतालाई स्पष्ट पार्न मैले प्रमाण प्रस्तुत गरेको हुँ।”

उनले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा प्रधानमन्त्री ओलीले कम्बोडियामा लगानी गरेको दाबी सहित “देशका नेताहरूको पैसा विदेशी कम्पनीहरूमा रहेको” विषयलाई उजागर गरेको बताए।

यो विषयले हाल नेपाली राजनीतिक वृत्तमा ठूलो चर्चा र विवाद सिर्जना गरेको छ।

spot_img

लोकप्रिय

Related Articles