काठमाडौं – निर्देशक ऋषि लामिछानेले आफ्नो नयाँ फिल्मको नाम ‘माग्ने राजा’ घोषणा गरेका छन्। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै यो नाम औपचारिक रूपमा जानकारी दिएको हो।
अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’ मुख्य भूमिकामा रहने यो फिल्म मुनाल घिमिरेले निर्माण गर्न लागेका हुन्। चलचित्र विकास बोर्डमा नाम दर्ता भएपछि फिल्मको नाम सार्वजनिक गरिएको हो।
फागुन १ गतेदेखि छायांकन
कमेडी कथावस्तुमा निर्माण हुने ‘माग्ने राजा’ आगामी फागुन १ गतेदेखि छायांकन सुरु गर्ने योजना छ। फिल्मको लेखन समीप्यराज तिमल्सिनाले गरेका छन्। आरम्भ प्रोडक्सनको प्रस्तुति रहने फिल्ममा केदार घिमिरे बाहेक अन्य कलाकारको छनोट प्रक्रिया जारी छ।
यो फिल्म निर्देशक ऋषि लामिछानेको आठ वर्षपछिको कमब्याक प्रोजेक्ट हो। लामिछानेले पछिल्लो पटक २०१६ मा प्रदर्शन भएको ‘किस्मत २’ निर्देशन गरेका थिए।
दीपक दीपाको नाम ‘माग्ने राजा’ फुत्कियो
यसअघि निर्देशक दीपक दीपाले ‘माग्ने राजा’ नामबाट फिल्म बनाउने तयारी गरेका थिए। तर, उक्त नाम हाल ऋषि लामिछानेको टिमले दर्ता गरेको छ।

