Tuesday, May 26, 2026

दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपतिविरुद्ध तत्काल महाभियोगको प्रस्ताव नलगाइने

ताजा / भरखरै प्राप्त

दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपति हान डक सोविरुद्ध महाभियोग प्रस्तावमाथि तत्कालका लागि विचार नगर्ने प्रतिपक्षले बताएका छन् । दक्षिण कोरियाको प्रमुख प्रतिपक्षी दलका नेता तथा डेमोक्र्याटिक पार्टीका ली जे–म्युङले आज आयोजित पत्रकार सम्मेलनमा आफ्नो पार्टीले देशको कार्यवाहक राष्ट्रपति हान डक सोविरुद्ध महाभियोग प्रस्ताव लगाउने तत्कालका लागि कुनै सोच नभएको बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

राष्ट्रपति युन सुक योललाई हिजो राष्ट्रिय सभाले महाभियोग लगाउने पक्षमा मतदान गरेपछि उहाँ राष्ट्रपतिको जिम्मेवारीबाट निलम्बित हुनुभएको छ । राष्ट्रपतिविरूद्धको महाभियोग प्रस्ताव संसदबाट पारित भएसँगै सोलको सडकमा हिजो युनको पक्ष र विपक्षमा हजारौंको सङ्ख्यामा र्‍याली निकालिएको थियो ।

मतदानपछि टेलिभिजनमा सम्बोधन गर्दै महाभियोग लागेका युनले आफू ‘पदबाट हट्ने’ तर सैनिक शासन लागू गर्ने असफल प्रयासका लागि माफी नमागेको बताउनुभएको छ । तीन सय संसद् सदस्य रहेको कोरियाली संसदमा दुई सय चार जना सांसदले विद्रोहको आरोपमा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने पक्षमा मतदान गरेका छन् भने ८५ जनाले विपक्षमा मतदान गरेका छन् । मतदानमा तीन सांसद अनुपस्थित रहेकामा आठ मत बदर भएको छ ।

spot_img

लोकप्रिय

Related Articles