नेपाली कांग्रेसले भोली शुक्रबार देखि बारामा एकसय दिने विशेष अभियान सुरु गर्ने भएको छ । कांग्रेस बाराले अभियानका बारेमा जानकारी दिन आज बिहिबार पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा अभियान माघ ११ गतेदेखि माघ १६ गतेसम्म सञ्चालन गरिने जानकारी गराएको छ । अभियानमा सहभागि हुन केन्द्रीय प्रतिनिधिका रुपमा आएका कांग्रेसका नेता बिमलेन्द्र निधिले बाराको १६ वटै स्थानीय तहमा विभिन्न कार्यक्रम आयोजना गरी अभियान सञ्चालन गर्न लागिएको बताउनु् भएको छ । अभियानको क्रममा आम नागरिकको गुनासो सुनेर केन्द्रीय समितिमा प्रतिवेदनका रुपमा पेस गरिने नेता निधिले जानकारी गराउनु भएको छ । जनताका गुनासोसँगै पार्टीले प्राथमिकताका आधारमा गर्नुपर्ने कामको रुपरेखा तयार गर्न सहज हुने उनले जानकारी दिनुभयो । कांग्रेस सरकारमा रहेको अवस्थामा अहिलेको गठबन्धनलाई आम जनताको बुझाइ र भ्रम भए त्यसलाई चिर्न अभियान सफल हुने नेता निधीको विश्वास रहेको छ ।

खटाइएका प्रतिनिधिले माघ ११ गते शुक्रबार जिल्ला पार्टी कार्यालय कलैयामा प्रतिनिधीसभा क्षेत्र नम्बर ३, माघ १२ गते शनिबार ४ नम्बको क्षेत्रीय सभापतिको मेलमा प्रतिनिधीसभा क्षेत्र नम्बर ४, माघ १३ गते आईतबार सुवर्ण गाउँपालिकाका वडा नम्बर १ मा रहेको बगही पोखरीमा प्रतिनिधीसभा क्षेत्र नम्बर २ , माघ १४ गते सोमबार नेपाली कांग्रेस पार्टी कार्यालय खोपवा बारागढीमा प्रतिनिधीसभा क्षेत्र नम्बर १ र माघ १६ गते बुधबार जिल्ला पार्टी कार्यालय कलैयामा सम्पूर्ण जिल्ला कार्य समिति राखेर अभियान संचालन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस बाराले जनाएको छ ।

अभियानले आन्तरिक समस्या भए त्यसलाई समाधान गर्दै अघि बढ्न सहज हुने अपेक्षा गरिएको छ ।

