जिल्ला प्रहरी कार्यालय रौतहटको मुद्दा फाँटमा कार्यरत प्रहरी निरिक्षक उमाशंकर प्रसाद गुप्ताले प्रहरी कार्यालयमा सेन्डीकेट चलाएको तथ्य सार्वजनिक भएको छ । १९ महिना देखि जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटको जिम्मेवारी पाएका प्रहरी निरिक्षक गुप्ता कसरी सेन्डीकेट चलाउछन् र उनको प्रभाव कति सम्म छन् भन्ने कुरा यो दुई घट्नाक्रमले उजागर गर्छ ।
घटना १ – विरेन्द्र महतो जाहेरी वाला रहेको जबरजस्ति करणि, अपहरण तथा शरिर बन्धक मुद्दा दर्ता
यस मुद्दामा नाबालक केटा र केटी भागेर प्रेम विवाह गर्छन् । बिहे गरेको भिडियो समाजिक सञ्जालमा हाल्छन् । त्यसपछि प्रहरी निरिक्षक गुप्ताको सक्रियता बढ्छ र केटीको बुवाबाट हुलाक मार्फत जाहेरी दिन लगाउँछन् । हुलाक बाट जाहेरी आएपछि मुद्दा दर्ता गर्छन् त्यसपछि आरोपित केटा धिरेन्द्र यादव र उनका भाई राजन यादवलाई पक्राउ गर्छन् र हिरासतमा राख्छन् । प्रहरी निरिक्षक गुप्ता केटीको बुवासंग आर्थिक लेनदेन गर्छन । त्यसपछि मुद्दाको मिसील आफ्नो हिसाबले बलियो बनाउंछन् र कडा सजायको मागदाबि सहित मुद्दा जिल्ला अदालतमा पठाउंछन् । तर अदालतमा प्रमाण स्वरुप भिडियोहरु देखेपछि मागदाबि जस्तो आरोप नदेखिएपछि आरोपितहरु अहिले धरौटीमा छुटेका छन् ।
घट्ना २ – गजेन्द्र दासको कुटपिटको क्रममा मृत्यू भएको कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ प्रक्ररण
यस मुद्दामा २०८१ साल पौष महिनाको १९ गते जिल्ला प्रहरी कार्यालय रौतहटले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ भन्ने शिर्षकमा प्रेश विज्ञप्ती जारी गर्छ र त्यसमा रौतहटको राजदेवि नगरपालिका १ का २० वर्षिय रामनरेश राय यादवलाई पक्राउ गरिएको देखाईन्छ । पक्राउ परेका यादवलाई प्रहरीले उनको घरबाटै समातेर ल्याउँछ तर विज्ञप्तीमा आफै आएको जिकिर गरिन्छ । पौष १७ गते यादवलाई प्रहरीले पक्राउ गरिसकेपछि प्रहरी निरिक्षक गुप्ताले यादवको परिवार सित आर्थिक मोलमोलाई सुरु गर्छन् र कुरा मिलिसकेपछि मुद्दाको मिसिल कमजोर बनाउने कामको सुरुवात हुन्छ र त्यसै अनुसार प्रेश विज्ञप्ती जारी हुन्छ जसमा तल प्रष्ट संग लेखिएको हुन्छ फरार प्रतिवादी आफै जिल्लामा हाजिर भएको ।
यो दुबै घट्नाक्रमको अनुसन्धान गर्ने हो भने प्रहरी निरीक्षक गुप्ताको आर्थिक मोलमोलाईको आधार प्रष्ट हुन्छ । आर्थिक कारोबार गर्न र सेटींग मिलाउन जानेका प्रहरी निरीक्षक गुप्ता हाकिमको रोजाईका पहिलो व्यक्ति हुन् । प्रहरी प्रमुख दिलिप घिमिरेका विश्वासपात्र मानिएका प्रहरी निरीक्षक गुप्ता रौतहटका नेता देखि बिचौलिया सम्मको सम्पर्कको सुत्राधार हुन् । प्रहरी निरीक्षक गुप्ता २०७१ साल देखि २०७५ सालसम्म प्रहरी सहायक निरीक्षक (सई) पदमा रौतहटको विभिन्न प्रहरी चौकिहरुमा प्रमुख भएर काम गरेको व्यक्ति हुन् । त्यतीखेर नै जिल्लाका सबै समुहका व्यक्ति संग सम्बन्ध बनाएका गुप्ता अहिले प्रहरी निरीक्षक भएर आएपछि सेटींग मिलाउन सजिलो भएको रौतहट प्रहरी स्रोतको दाबि छ । प्रहरी निरीक्षक भएर २०८० साउन ३० गते जिल्ला प्रहरी कार्यालय रौतहटमा मानव स्रोत व्यवस्थापन शाखामा दरबन्दी कायम हुनेगरी आएका गुप्ता १९ महिनादेखि मुद्दा फाँटमा कार्यरत रहेका छन् । तत्कालिन प्रहरी प्रमुख महेन्द्र श्रेष्ठको समयमा मिटरव्याजको पीडकहरुसंग सेटींग मिलाउने काम प्रहरी निरीक्षक गुप्ताले नै गर्ने गरेको समाचार स्रोतको दाबि छ । सर्लाहीमा पनि मुद्दा फाँटमा बसेका प्रहरी निरीक्षक गुप्ता प्रहरीमा मुद्दा मिलाउन जान्नेको रुपमा बढी चिनिन्छन् । जिल्ला प्रहरी कार्यालय रौतहटको मुद्दा फाँटमा १९ महिनादेखि बसिरहेका प्रहरी निरीक्षक गुप्ताले पैसा आउने मुद्दाहर आफुले हेर्ने गरेको र अभद्र व्यवहारका मुद्दाहरु मात्र त्यस फाँटका प्रहरी सहायक निरीक्षक (सई) उमेश राईलाई दिने गरेको स्रोतले जनाएको छ । समाचार स्रोतका अनुसार १९ महिनामा कुनै पनि विदा नबसकेका प्रहरी निरीक्षक गुप्ता हरेक दिन सेटींग भएको आर्थिक असुलीको लागि बेलुका कार्यालय बाहिर निस्किने गर्दछन् । जघन्य प्रकृतिका घट्नाको मुचुल्का गर्न नजाने प्रहरी निरीक्षक गुप्ता भने भन्सार छलीको सामान भन्सारमा बुझाउँदा आफै प्रतिवेदक बन्ने गरेका छन् । प्रहरी प्रमुखको प्रिय पात्रको रुपमा बसेका प्रहरी निरीक्षक गुप्ताको भदौ १७ मा मधेश प्रदेशका सबै प्रहरी निरीक्षकहरुको सरुवा हुँदा गुप्ताको सरुवा बाट नाम हटाईएको थियो र सरुवाबाट नाम हटाउन प्रमुख भुमिका खेल्ने व्यक्ती तत्कालिन प्रहरी नायब उपरिक्षक (डिएसपी) एलिजा गिरी रहेको समाचार स्रोतको दाबि छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्ति सुरक्षा कायम भएको बताएपनि अहिले रौतहटमा हुण्डीको कारोबार, सुन तस्करी, रक्सीको तस्करी, लसुनको तस्करी, पशु चौपायाको तस्करी र किराना सामानहरुको तस्करी लाईन दिएर नै चलिरहेको स्थानीय पत्रकारहरु बताउँछन् ।
कसले के भन्छन् त ?
हामिले यस विषयमा समाचार संग सम्बन्धीत सबैजना संग कुरा गरेका छौ । जसको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौं ।
उमाशंकर प्रसाद गुप्ता,
प्रहरी निरीक्षक
प्रहरी निरीक्षक उमाशंक प्रसाद गुप्ता भने आफु विरुद्ध लागेका सबै आरोपहरु झुठो र निराधार रहेको बताउनु भएको छ । उनले “भन्ने मान्छे भन्दै गर्छन् यो सब झुठ हो” विशेष कुरा प्रहरी प्रमुख संग बुझ्नलाई भनेका छन् ।
दिलिप घिमिरे
प्रहरी उपरिक्षक, रौतहट प्रहरी
यस विषयमा रौतहटका प्रहरी प्रमुखले भने दलाली गरी घरपरिवार चलाउनेहरु खान नपाएर यस्तो झुठो आरोप लगाएको बताउनु भएको छ । उहाँले बिचौलीयाहरु सलबलाएको र रौतहटका पत्रकारहरुलाई पनि समाचार लेख्न हार गुहार गरेको खबर प्राप्त भएको बताउनु भयो । आफु प्रहरी प्रमुख भएर आएपछि रौतहट जिल्ला सवर्णिम यूगमा पुगेको दाबि गरेका छन् । उहाँले मुद्दा फाँटबाट गुप्तालाई हटाउन पाए आफु बस्न सकिने भनेर पनि केहि व्यक्ति लागेको जिकिर गरे ।
शान्ति राज कोईराला
प्रहरी बरिष्ठ उपरिक्षक, सूचना अधिकारी, मधेश प्रदेश प्रहरी
यस विषयमा मधेश प्रदेश प्रहरीका सूचना अधिकारी शान्ति राज कोईरालाले अनुसन्धानको क्रममा प्रमाण पुगेपछि कार्वाही गरिने प्रतिकृया दिनुभएको छ ।
दिनेश कुमार आचार्य
प्रहरी नायब महानिरीक्षक, केन्द्रिय प्रवक्ता, नेपाल प्रहरी
यसै प्रसंगमा नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता दिनेश कुमार आचार्यले यस बिषयमा बुझेर सत्य तथ्य पत्ता लगाई अगाडिको प्रकृया बढाउने प्रतिकृया दिनु भएको छ ।

