चार महिनादेखि तलब नपाएको भन्दै प्रादेशिक अस्पताल कलैयामा कार्यरत छात्रवृति करारका चिकित्सकहरु आन्दोलित भएका छन् ।
प्रादेशिक अस्पताल कलैयामा छात्रवृति करारमा कार्यरत १३ जना चिकित्सकहरु होलि पर्वमा समेत तलब नदिएको भन्दै आजदेखि पेन डाउन गरि आन्दोलनमा उत्रेका हुन् । तलबको लागि पटक पटक ताकेता गर्दा पनि संघ र प्रदेश सरकारले तलब उपलब्ध नगराएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको चिकित्सकहरुको भनाई रहेको छ ।
चिकित्सकहरुको आन्दोलनका कारण अस्पतालका धेरैजसो सेवाहरु ठप्प भएको छ । यस विषयमा अस्पताल प्रशासनले सम्बन्धित निकायमा पत्रचार गरीसकेको जनाएको छ । अस्पतालका मेडिकल सुपरीडेन्ट डाक्टर अजय गुप्ताले आफै आन्दोलित चिकित्सकहरु संग कुरा गर्नु भएको छ । मेसु गुप्ताका अनुसार तलबको लिखित सुनिश्चितता भएपछि आन्दोलन फिर्ता लिने मनसायमा आन्दोलित चिकित्सकहरु रहेका छन् ।
नेपाल सरकारको छात्रवृति करार अन्तर्गत प्रादेशिक अस्पताल कलैयामा विशेषज्ञ चिकित्सक २ जना, मेडिकल अधिकृत ५ जना, नर्सिङ्ग अधिकृत ४ जना, डेन्टल अधिकृत १ जना र फार्मेसी अधिकृत १ जना गरी १३ जना कार्यरत रहेका छन् ।

