Tuesday, May 26, 2026

कलैयाको बसपार्क बैशाख १ गतेदेखि पूर्णरुपमा सञ्चालनमा आउने : प्रजिअ अधिकारी

ताजा / भरखरै प्राप्त

बाराको कलैयामा रहेको बसपार्क आगामी बैशाख १ गतेदेखी पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले अग्रसरता लिएपछि बसपार्क सञ्चालन हुने भएको हो ।
आज शनिबार बिहान प्रमुख जिल्ला अधिकारी सहित कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साह, जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष तामांग, बस व्यवसायी संघका अध्यक्ष ओमप्रकाश साह र ट्राफिक प्रहरी पोष्ट कलैयाका बरिष्ठ प्रहरी नायब निरीक्षक अशोक बस्नेत सहितको टोलिले बसपार्कको स्थलगत निरीक्षण गरी एकमहिना भित्र आवश्यक सम्पुर्ण तयारी पुरा गरी बसपार्क सञ्चालनमा ल्याउने गरी छलफल भएको हो । नगरप्रमुख साहले तत्कालको लागि चाहिने सहयोग उपमहानगरपालिकाले गर्नेगरी बैशाख देखी बसपार्क सञ्चालनमा ल्याउने छलफल भएको बताउनुभएको छ ।
कलैयाको भरतचौकमा देखिएको ट्राफिक समस्यालाई समाधान गर्नका लागि बसपार्कलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनुपर्ने अवस्था देखेर प्रमुख जिल्ला अधिकारी आफै लागेका हुन् । बसपार्क सञ्चालनमा आईसकेपछि भरतचौक व्यवस्थित र सुन्दर हुने प्रमुख जिल्ला अधिकारीको दाबि रहेको छ ।
बैशाख १ गतेदेखि बसपार्क सञ्चालन गर्नुपूर्व ४ वटा महत्वपूर्ण कामहरु स्थानीय प्रशासनले उपमहानगरपालिका संग सहकार्य गरेर गर्नेछ ।
सरोकारवालाहरु संग बैठक
चैत ६ गते बुधबारको दिन दिउँसो ३ बजे बसपार्क संग सरोकार राख्ने सबै सरोकारवाला संग बैठक गर्नेछ । जसमा बस व्यवसायी लगायत अन्य सरोकारवालाहरुको समस्या बारे छलफल गरीनेछ ।

बसपार्कमा रहेका सबै बसहरु हटाउने
त्यसपछि चैत १० गतेभित्र बसपार्कमा ग्यारेज बनाएर राखिएका सम्पूर्ण बसहरु हटाउने काम गरीन्छ । बसपार्क भित्र रहेका पुराना थोत्रा, बिग्रेका बसहरुलाई बसधनिलाई भनेर हटाउन लगाउने ।

आवश्यक मर्मत संभार गर्ने
चैतको २५ गते भित्रमा उपमहानगरपालिकाले बसपार्क सञ्चालनका लागि चाहिने सम्पूर्ण आवश्यक पूर्वाधारहरुको मर्मत संभारको काम गरीनेछ । शौचालय, ड्रेन लगायत यात्रुहरुलाई बस्ने व्यवस्थाहरुको मर्मतको काम उपमहानगरपालिकाले गर्नुपर्नेछ ।

बसपार्क संचालनको जिम्मा दिने
आवश्यक पूर्वाधारको मर्मत संभार भईसकेपछि चैतको ३० गतेभित्रमा बसपार्क सञ्चालनको जिम्मा तत्काल उपमहानगरपालिकाको कुनै कर्मचारीलाई दिएर बैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने खाका तयार भएको छ ।

बसपार्क सञ्चालनमा आएपछि कलैयाबाट चल्ने सम्पुर्ण यातायातहरु बसपार्कबाट मात्र सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनु भएको छ ।

spot_img

लोकप्रिय

Related Articles