पत्रकार जलाएर हत्या गर्ने जस्तो क्रूर र अमानवीय कार्य कुनै हालतमा स्वीकार्य नहुने प्रेस मञ्च नेपालका कार्यवाहक अध्यक्ष मनोज यादवले बताउनु भएको छ ।
बाराको कलैयामा आयोजित प्रेस मञ्च नेपाल बारा जिल्लाको दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले पत्रकारहरू लोकतन्त्रका बलिया खम्बा भएको उल्लेख गर्नुभयो । उहाँले सञ्चारमाध्यम तथा पत्रकारहरूमाथि लक्षित आक्रमणलाई लोकतन्त्र विरोधी गतिविधिको संज्ञा दिँदै यस्ता घटनाहरूको कडा शब्दमा निन्दा गर्नुभएको छ ।
ूलोकतन्त्रको संरक्षण र प्रवर्द्धनमा पत्रकारहरूको भूमिकालाई नजरअन्दाज गर्न सकिन्न । कुनै पनि बहानामा सञ्चारगृह वा पत्रकारमाथि गरिने आक्रमण लोकतन्त्रमाथिको प्रहार हो,ू अध्यक्ष यादवले भन्नुभयो। साथै, उहाँले यस्ता घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न राज्य र सरोकारवाला निकायहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रेस मञ्च नेपालका प्रदेश अध्यक्ष अभरेन्द्र कुमार यादवले प्रेस स्वतन्त्रताको रक्षा तथा पत्रकारहरूको सुरक्षाको सुनिश्चितता अपरिहार्य रहेको धारणा राख्नुभयो । उहाँले पत्रकारहरूलाई डर र त्रासमुक्त वातावरणमा काम गर्न दिनु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो ।
जसपा नेता रामबाबु यादव (वकिल) ले अहिले संगठन कमजोर देखिए पनि भविष्यमा बलियो हुने बताउँदै प्रेस बलियो भएमा संघीयता पनि बलियो हुने धारणा व्यक्त गर्नुभयो ।
पूर्व संविधानसभा सदस्य आत्माराम प्रसाद साहले प्रेस मञ्च नेपाल स्थापना कालदेखि नै लोकतन्त्र, गणतन्त्र र संघीयताको पक्षमा कलम चलाउँदै आएको स्मरण गराउँदै वर्तमानमा देश भ्रष्टाचारको दलदलमा फसेकोले प्रतिगामी शक्ति सक्रिय भएको बताउनु भयो ।
कार्यक्रममा नेता रामकिशोर यादवले मधेश आन्दोलनको बलमा प्राप्त संघीयता र गणतन्त्रको रक्षा गर्न प्रेस सधैं तत्पर रहनुपर्ने बताउँदै अफवाहलाई चिर्दै अगाडि बढ्नु आजको आवश्यकता रहेको धारणा राख्नुभयो ।
प्रयाग यादवले सञ्चार जगत मजबुत भएमा लोकतन्त्र पनि बलियो हुने बताउँदै प्रेस मञ्च नेपाललाई हरदम साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पूर्व मन्त्री उषा यादवले पत्रकारलाई राज्यको चौथो अंगका रूपमा मानिए पनि राज्यबाट पर्याप्त सुरक्षा नपाएको गुनासो गर्दै अबिलम्ब सुरक्षा प्रत्याभूति दिन राज्यले ठोस कदम चाल्नुपर्ने बताउनुभयो ।
कार्यक्रम मेघराज पासवान (निखिल) को अध्यक्षता, प्रमुख अतिथि प्रेस मञ्च नेपालका कार्यवाहक अध्यक्ष मनोज यादव र विशिष्ट अतिथि प्रदेश अध्यक्ष अभरेन्द्र कुमार यादवको आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा पूर्व संविधानसभा सदस्य आत्माराम प्रसाद साह, केन्द्रीय सदस्य त्रिलोकीनाथ यादव, अनिल वर्मा, जसपा नेता रामबाबु यादव, प्रयाग यादव, पूर्व मन्त्री उषा यादव, जसपा नेपालका केन्द्रीय सदस्य उमरावती यादव, रामकिशोर यादव, प्रमिला गिरी, बबिता देवी लगायत जिल्लाका पत्रकार, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
कार्यक्रम मार्फत प्रेस मञ्च नेपाल बारा जिल्लाको दोस्रो अधिवेशन सम्पन्न गर्दै मेघराज पासवान निखिलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ। जसमा उपाध्यक्ष शेख महताव आलम, महिला उपाध्यक्ष सोना यादव, सचिव मानिकचण साह, सहसचिव रूपेश साह र दीपक पासवान, कोषाध्यक्ष राजेश कुमार यादव तथा सदस्यहरू उपेन्द्र पासवान, निभा गीरी, नेहा गीरी, राज बहादुर यादव, प्रवेश चौधरी, भैरव लाल महतो कोइरी, साबिर आलम, ललन पासवान रहेका छन् ।

