बारामा आगलागि नियन्त्रण तथा बच्ने उपाय सम्बन्धी कृत्रिम घट्ना अभ्यास गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेड क्वाटर बाराको आयोजनामा आज विपद पूर्व तयारी तथा प्रतिकार्य कृत्रिम घटनाको अभ्यास गरिएको हो ।
सुवर्ण गाउँपालिका वडा नम्बर २ संतगज स्थित नेपाल भारत सीमाक्षेत्रको खुल्ला चौरमा खरको गोठ निर्माण गरि आगलागि नियन्त्रणको अभ्यास गरिएको हो ।
बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कृत्रिम घट्ना अभ्यासमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सशस्त्र प्रहरी बल एसएसबी का स्थानीय यूनिटहरुको ४१ जना सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।
सुवर्ण गाउँपालिकाका उपाध्यक्ष सहित नेपाल र भारत तर्फका २ सय ५० जना भन्दा बढी स्थानीयको उपस्थितिमा सम्पन्न भएको उक्त घट्ना अभ्यास कार्यक्रममा गर्मीको समयमा हुने आगलागिबाट बच्ने उपाय र नियन्त्रको बारेमा अभ्यास गराईएको नं. १२ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक खुम बहादुर के.सी.ले बताउनु भएको छ । के.सी.का अनुसार जोखिमका सम्भावित क्षेत्रहरुको पहिचान गरी सीमा क्षेत्रमा बसोबास गरिरहेका सर्वसाधारणहरुमा जनचेतना फिजाउने कार्यक्रमको मुख्य उद्दैश्य रहेको थियो ।
त्यस्तै जिल्ला विपद व्यवस्थापन समिति बाराका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सानो सानो असावधानीले ठूलो दुर्घटना हुन सक्ने भएकोले सचेत हुनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक सन्तोष तामागं लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

