सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण हेड क्वाटर बाराले आज बुधबार आफ्नो १८ औं स्थापना दिवस एक भव्य कार्यक्रम गरी मनाएको छ ।
कलैया उपमहानगरपालिका वडा नम्बर १६ उत्तरझिटकैयामा रहेको नं. १२ गण हेड क्वाटर बाराले आफ्नो १८ औं स्थापना दिवस मनाएको हो । कार्यक्रममा प्रमुख अतिथि रहनु भएका सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीका बाहिनीपति कालीदास धौबजीले १८ औं स्थापना दिवसको अवसरमा परेवा र बैलुन उडाई केक काट्नु भएको थियो ।

स्थापना दिवसको अवसरमा हेड क्वाटरले आफ्नो संक्षिप्त ईतिहास पनि सार्वजनिक गरेको छ ।
नेपाल सरकारको मन्त्री परिषदको २०६३ फाल्गुन ९ गतेको निर्णय अनुसार सीमा सुरक्षा कार्यालय बाराको स्वीकृती प्रदान भएको यस कार्यालयको २०७० साल फाल्गुण २२ गते साबिक उत्तरझिटकैया गाविस वडा नम्बर ४ र हाल कलैया उपमहानगरपालिका वडा नम्बर १६ मा आफ्नै १४ बिघा १० कठ्ठा जग्गामा भवन निर्माण गरी सीमा सुरक्षा कार्यालय बाराको नामबाट आफ्नो नियमित कार्य संचालन गर्दै आईरहेको थियो । त्यसपछि मजकुर गृह मन्त्रालयको २०७५ साल जेठ २७ गतेको निर्णयले सशस्त्र प्रहरी बलको नयाँ संरचनाको स्वीकृती भएपश्चात यस कार्यालयको स्तरोन्नती भई सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेड क्वाटर बारा नाम कायम भएको कार्यक्रममा उपस्थित अतिथिहरुलाई सुनाईएको थियो ।
त्यस्तै स्थापना कार्यक्रमको अवसरमा साँस्कृतिक कार्यक्रम गरिनुका साथै शहिद परिवारलाई सम्मान र पुरस्कार एवं प्रशंसा पत्र वितरण गरीएको छ ।

कार्यक्रममा जनमत पार्टीका नेता शिवनाथ पटेल, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी र कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद साहले सुभकामना मन्तव्य राखेका थिए ।

स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बाहिनीपति कालीदास धौवजीले स्थापना दिवसको शुभकामना दिदैैं सीमामा हुने अवैध कारोबार रोक्न कडा निर्देशन दिनुभएको छ ।
कार्यक्रमको अन्त्यमा नं.१२ गण हेड क्वाटरका गणपति खुमबहादुर के.सी.ले सबै सहभागिहरुलाई विशेष धन्यवाद दिनुभएको थियो ।

