असार ०९, बारा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको दुधौरा खोलामा निर्माणाधीन पुल र अस्थायी डाइभर्सनमा नदीको बहाव बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको टोलीले सोमबार स्थलगत निरीक्षण गरेको छ ।

निरीक्षणका क्रममा पुल निर्माणको अवस्था, बेलीब्रिजको क्षमताका साथै नदीको बहावको दिशा र दबाबको मूल्याङ्कन गरिएको टोलीमा सहभागी प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनु भएको छ । प्रजिअ अधिकारीका अनुसार बाढीका कारण हुनसक्ने विपदजन्य अवस्थालाई तत्काल व्यवस्थापन गर्न आवश्यक रणनीति बनाउँदै सुरक्षासम्बन्धी निर्देशन जारी गरिएको छ ।

जिल्ला सुरक्षा समितिको उपस्थितिमा पुल निर्माणसँग संलग्न निर्माण व्यवसायीका प्रतिनिधिहरू तथा सुरक्षा निकायहरूसँग छलफल गरी तत्काल लागू हुने निर्णयहरू गरिएको छ ।

छलफलको क्रममा पुलको दुवै किनारमा सुरक्षाकर्मी परिचालन गर्ने, बेली ब्रिजमार्फत एक पटकमा केवल एक गाडी मात्र सञ्चालन गरिने,आकस्मिक अवस्था व्यवस्थापनका लागि एउटा स्काभेटर स्ट्यान्डबाई राख्ने निर्णय भएको प्रजिअ अधिकारीले बताउनु भएको छ ।

त्यस्तै समितिले निर्माण व्यवसायीलाई निर्माणकार्यमा गति ल्याउन र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न समेत निर्देशन दिएको छ । साथै स्थानीय प्रशासनले बाढीको खतरा न्यूनीकरण तथा यातायातको सहजता कायम राख्न सबै पक्षलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह पनि गरेको छ ।


