असार १५, बारा । असार १५ गतेको अवसरमा बारा जिल्लाको सपही स्थित एकीकृत कृषि सेवा केन्द्रमा २२ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव २०८२ भव्य रूपमा सम्पन्न गरिएको छ।
ूधान बालीमा सजगता, खाद्यसुरक्षा र आत्मनिर्भरता भन्ने मूल नारा सहित आयोजना गरिएको यस कार्यक्रममा स्थानीय कृषक, कृषि विज्ञ, सहकारी प्रतिनिधि तथा विभिन्न निकायका अधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमलाई कृषि विकास निर्देशनालय, नक्टाझिज, मधेश प्रदेशले आयोजना गरेको हो भने सान किसान कृषि सहकारी संस्था लिमिटेड, कोल्हवी ४, सपही बाराले सहकार्य गरेको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले धान खेतीको महत्व, जलवायु अनुकूलन रणनीति, आधुनिक प्रविधिको उपयोग तथा बीउ उत्पादन प्रणालीमा आत्मनिर्भर बन्ने उपायबारे जानकारी गराएका थिए ।
यस दिवसलाई नेपाली कृषि संस्कृतिको महत्वपूर्ण पाटोका रूपमा लिइन्छ, जहाँ कृषकहरू सामूहिक रूपमा रोपाईं गरी आपसी सहयोग र उमंगको भावना साटासाट गर्छन् ।
यस वर्षको महोत्सवले खाद्य सुरक्षाको सन्देश मात्र होइन, आत्मनिर्भर कृषिको मार्गचित्र पनि प्रस्तुत गरेको छ।

