Tuesday, May 26, 2026

शिवम् सुगर एण्ड केमिकल मिल स्थापना विरुद्ध नदी प्रदूषणको आशंका : ज्ञापनपत्र मार्फत गम्भीर ध्यानाकर्षण

ताजा / भरखरै प्राप्त

साउन ०१, बारा । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १५ मा स्थापना भइरहेको शिवम् सुगर एण्ड केमिकल प्रा.लि.ले वातावरणीय सन्तुलनमा गम्भीर असर पार्न सक्ने भन्दै स्थानीयबासी तथा जनप्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालय बारा मार्फत औपचारिक ज्ञापन बुझाएका छन् ।

कलैया उपमहानगरपालिका वडा नम्बर २७ का वाडा अध्यक्ष अशोक कुमार तिवारीको नेतृत्वमा गएको टोलिले प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा उद्योग स्थापनासँगै आसपासका वडाहरूमा पर्यावरणीय जोखिम बढ्ने गम्भीर चिन्ता व्यक्त गरेको छ ।

ज्ञापनपत्रमा मिल स्थापनापछि निस्कने दूषित पानी उचित व्यवस्थापनबिना नदीमा मिसाइएमा छिमेकी ६ वटा वडाहरूमा प्रत्यक्ष असर पर्ने उल्लेख गरिएको छ। वाटर ट्रीटमेन्ट, पोलुटेड वाटर डिस्चार्ज स्टोरेज र पानी निकासको नक्सा पास नगराई संचालन कार्य अगाडि बढाइनु आपत्तिजनक भएको उल्लेख छ ।

नदीमा सफा पानी मात्रै मिसाउन दिनुपर्छ । भोली मिल सञ्चालनमा आएपछि फोहर पानी नदीमा मिसाइएमा वरपरको वातावरण पूर्णरूपमा दूषित हुने खतरा ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्रमा नदीको पानी खेती सिँचाइका लागि मुख्य श्रोत रहेको र उक्त पानी दूषित भयो हुँदा सिँचाइ नहुनुका साथै उत्पादनमा ह्रास आउनुका साथै किसानको जीवन नै संकटमा पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ । यसले गरिब किसानहरू आत्महत्या गर्नेसम्मको स्थिति सिर्जना गर्ने भन्दै यसका लागि कसले जवाफदेही लिने ? भन्ने गम्भीर प्रश्न उठाइएको छ ।

नदी वरिपरि रहेको बस्ती, चौपाया, जीवजन्तु तथा स्थानीय दलित समुदाय र मजदुरहरूको जीवनमा समेत फोहर पानी, ध्वनि तथा धुवाँ प्रदूषणले प्रतिकूल असर पार्ने खतरा औंल्याइएको छ ।

साथै, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेको इमिर्ति खोलाको संरक्षणमा समेत प्रश्न उठाइएको छ । छठ पूजा, दुर्गा पूजा, यज्ञहरूमा प्रयोग हुने पानीको शुद्धतामा असर पर्ने भन्दै समुदायमा धार्मिक आस्थामा ठेस पुग्ने चेतावनी समेत दिइएको छ । खोलासँग जोडिएको पिकनिक स्थल तथा पर्यटन क्षेत्र पनि दुषित पानीको चपेटामा पर्ने उल्लेख छ ।

शिवम् सुगर एण्ड केमिकल मिलले हालसम्म वातावरणीय प्रभाव मूल्यांकन नगराई र नक्सा स्वीकृति नलिई निर्माण कार्य अघि बढाएको गुनासो पनि गरिएको छ । नेपालमा प्रतिबन्धित ५ वर्षभन्दा पुराना मेसिन उपकरणहरू ल्याइ प्रयोग गरिएको तथ्यसमेत उजागर गरिएको छ, जुन नेपालको कानुन विपरीत रहेको जनाइएको छ ।

उक्त ज्ञापनपत्रको बोधार्थ कपी कलैया उपमहानगरपालिका कार्यालय, बारा उद्योग वाणिज्य संघ, वन तथा वातावरण मन्त्रालय सिंहदरबार, तथा प्रदेश सरकार अन्तर्गतको वन तथा वातावरण मन्त्रालय, जनकपुरधाममा समेत पठाइएको वडा अध्यक्ष तिवारीले बताउनु भएको छ ।

ज्ञापनकर्ताहरूले यथाशीघ्र समस्या समाधान गर्न आग्रह गर्दै, मिल स्थापना अघि सम्पूर्ण वातावरणीय मापदण्डहरू पूरा गरिनुपर्ने माग दोहोर्‍याएका छन् । जनस्वास्थ्य, प्राकृतिक स्रोत र सामाजिक सद्भावमा असर पार्ने कुनै पनि कार्यलाई रोक्न सरकार गम्भीर बन्नुपर्ने उनीहरूको चेतावनी छ ।

spot_img

लोकप्रिय

Related Articles