साउन ०१, बारा । आर्थिक वर्ष २०८२।८३ को सुरु दिनमै राज्यप्रति आफ्नो कर दायित्व निर्वाह गर्दै नागरिक कर्तव्यको उदाहरण पेश गरेकी बाराकी मायादेवी न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय बाराले औपचारिक रूपमा सम्मान गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बिहीवार न्यौपानेलाई खादा र माला लाएर सम्मान प्रदान गरेका हुन् । कर तिर्ने संस्कृतिको प्रवर्द्धन र नागरिक सचेतनामा सकारात्मक सन्देश दिन उद्देश्यले गरिएको सम्मानले करप्रति सचेत नागरिकको भूमिकालाई स्थापित गरेको छ ।
सम्मान पछि बोल्दै प्रजिअ अधिकारीले, “राज्यले सेवा दिन्छ, नागरिकले कर तिर्छ—यही द्विपक्षीय उत्तरदायित्वबाट सुशासनको अभ्यास मजबुत हुन्छ। मायादेवीजस्तो करदाताले अरु नागरिकलाई पनि करप्रति जिम्मेवार बन्ने प्रेरणा दिनेछन् ।” साथै उनले सबै सरकारी कार्यालयहरूलाई कर तिर्ने सेवाग्राहीहरूलाई यथोचित सम्मान गर्ने वातावरण तयार गर्न निर्देशन समेत दिएका छन् ।

