साउन ०३, बारा । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ७ तेलकुवा निवासी राजेश साह नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य हुन् । यति ठूलो राजनीतिक पदधारी मात्र नभई उनी अहिले मधेश प्रदेश सरकारको “मदन भण्डारी विपन्न आवास कार्यक्रम” अन्तर्गत ६४ वटा घर निर्माणको जिम्मेवारी पनि सम्हालिरहेका छन् ।
उक्त जिम्मेवारी उनले कसरी पाए भन्ने विषयमा ठूलो प्रश्न उठेको छ । किनकि राजेश साहका भाइ सञ्जय साह हाल भौतिक पूर्वाधार विकास मन्त्रालयमा निमित्त सचिवका रुपमा कार्यरत छन् । भाइको सरकारी शक्तिको खुलेआम दुरुपयोग गर्दै दाजु राजेशले कमिसनको खेल तथा आफन्तवादी नेटवर्कमार्फत काम लिएका छन् । विपन्नका लागि बनाइने भनिएका घर उनीहरूले हुनेखानेलाई वितरण गरिरहेका छन् ।
स्थानीयका अनुसार लाभग्राहीबाट ‘घर बनाइदिने भन्दै मोटो रकम कमिसन असुली गरिएको छ । अझ त्यो मात्र होइन, निर्माण कार्य अलपत्र, गुणस्तरहीन र हतारको शैलीमा भइरहेको छ । आर्थिक मसान्त सकिसके पनि धमाधम घरहरू निर्माण गरिरहेका छन् ।
सबैभन्दा रोचक कुरा त यो हो कि राजेश साहले आफ्नै नातेदार उर्मिला कुमारी तेलीनलाई उपभोक्ता समिति अध्यक्ष बनाइ गंजभवानीपुर स्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा खाता समेत खोलेका छन्, जसमा आवास निर्माणको रकम सारीएको छ ।
प्रदेशको मन्त्रालयमा सचिव हुनुको फाइदा लिएर राजेश साहले पूर्वाधार कार्यालयका कर्मचारीहरूलाई समेत आफ्ना इसारामा चलाइरहेका छन् । जब सचिव सञ्जय साहसँग यो विषयमा प्रश्न गरिन्छ, उनी “दाजुलाई कसरी जिम्मा दिइयो, मलाई थाहा छैन” भन्दै झारा टार्ने जवाफ दिन्छन् । अर्कोतर्फ, स्वयं राजेश साह भने प्रश्न गर्नासाथ फोन काटेर सम्पर्क विहीन भएका छन् ।
यसरी एउटा सरकारी योजना, जसको उद्देश्य विपन्न, गरिब र आश्रय विहीन नागरिकलाई छानामा टाउको टेक्न सहयोग पुर्याउनु हो, त्यो आज भ्रातृसत्ताको संरक्षणमा कमिसनको स्रोत, आफन्तवादी खेल र भ्रष्ट निर्माणको अखडा बनेको छ ।
अब प्रश्न उठ्छ – प्रदेश सरकार, अख्तियार र सम्बन्धित निकाय किन चुप छन् ? राजेश र सञ्जय साहजस्ता सेटिङधारीको पहुँचमा जनताकै अधिकार किन सधैं हार्छ ?

