Tuesday, May 26, 2026

रौतहटमा मदन भण्डारी आवास योजना विवादमा : दुई दिनको वर्षाले भत्किए भवन, गुणस्तरमाथि प्रश्न

ताजा / भरखरै प्राप्त

साउन २१, रौतहट । रौतहटमा अषाढ मसान्तमा धमाधम बजेट सिध्याउने होडमा निर्माण गरिएका मदन भण्डारी आवास योजना अन्तर्गतका घरहरू दुई दिनको वर्षाले नै धमाधम भत्किन थालेका छन् । मधेस प्रदेश सरकारको बजेटबाट पूर्वाधार विकास कार्यालय मार्फत निर्माण गरिएका ती भवनहरूमा अत्यधिक कमसल सामग्री प्रयोग गरिएका कारण घरहरु भत्किन थालेको हो ।

विशेषगरी माधवनारायण नगरपालिका ९ गढोमा निर्माण भइरहेका भवनहरू वर्षाले भत्किन थालेका हुन् । निर्माण कार्य सम्पन्न नहँुदै भवनहरू क्षतिग्रस्त हुन थालेपछि प्राविधिक दक्षता र नियतमाथि समेत स्थानीयवासीले शङ्का गरेका छन् ।

स्थानीयको अनुसार, कार्यविधि अनुसार उपभोक्ता समिति मार्फत निर्माण गरिनुपर्ने योजना ठेकेदार मार्फत चलाइएको छ । कागजमा मात्रै उपभोक्ता समिति गठन गरिएको देखिए पनि व्यवहारमा ठेकेदारले मोटो रकम असुल गरेर काम अघि बढाएको प्रमाण फेला परेको छ । निर्माण कार्यमा संलग्न व्यक्तिहरू उपभोक्ता समितिमा नरहे पनि सम्पूर्ण जिम्मेवारी सम्हालिरहेको पाइएको छ ।

पूर्वाधार विकास कार्यालय रौतहटका इन्जिनियर रामबाबु प्रसादले निर्माण कार्यमा मोटो कमिसन लिएर गुणस्तरहीन काम गराएको र बजेटभन्दा बढी रकमको बिल बनाईएको भन्दै स्थानीयवासीले आरोप लगाएका छन् ।

माधवनारायण नगरपालिकाका एक पूर्व वडा अध्यक्षले भने, “कमिसनको स्वार्थ र बजेट सिध्याउने हतारोले यस्तो लापरवाही भएको हो । यस्ता निर्माणले भविष्यमा त्यहाँ बस्ने नागरिकको ज्यानै जोखिममा पार्छ ।”

स्थानीयवासी र नागरिक समाजका अगुवाहरूले तत्काल छानबिन गरी दोषीमाथि कारवाहीको माग गरेका छन् ।

spot_img

लोकप्रिय

Related Articles