माननीय पर्यटन मन्त्रीज्यू लाई खुला पत्र
विषय: पर्यटन बिकासको कार्यालय संचालन सम्बन्धमा,
माननीय ज्यू,
जय पर्यटन !
तपाईंको नेतृत्वमा पर्यटन क्षेत्रको चमत्कारी विकासको कुरा सुन्दा, तपाईंकै गृह जिल्लामा रहेको विभागीय कार्यालयको ठेगाना हेरेपछि पर्यटन प्रेमी जनताहरूको हृदय रोमाञ्चित भयो। आखिर, कुन देशमा मन्त्रीकै घरबाट विभागीय कार्यालय संचालन हुन्छ र ? तपाईंले त गिनिज बुकमा रेकर्ड राख्न लायक नविनतम नवाचार गर्नुभएको रहेछ – “गृह पर्यटन कार्यालय”!
के सुन्दर कल्पना! घर पनि आफ्नै, कार्यालय पनि आफ्नै l अनि कर्मचारी ? त्यो त कसलाई चाहिन्छ र! दुई जना नाम मात्रका स्थायी कर्मचारी – त्यो पनि कहिल्यै भेटिदैनन्, सायद उनीहरू पनि ‘घुम्ती पर्यटन’मा होलान्! बाँकी कार्यालय चलाउने जिम्मा लिएको छ दुई जना ज्यालादारी “मल्टी टास्किङ टुरिज्म हीरो”हरूले – रिसेप्सनदेखि रिर्पोट लेख्ने, स्वीपरदेखि सेक्युरिटीसम्म!
तर मन्त्रीज्यू,
यो त तपाईंको “सस्तोमा स्वार्थ सिद्ध गर्ने उच्चतम कला” होइन र? आफ्नै घरमा कार्यालय राखेर घरको भाडा पनि खल्तीमा, हाकिम,लेखापाललाई छुटै छुट – अनि अझ गरिब कर्मचारीको नाममा ज्यालादारी मार्फत पर्यटकीय नाटक?
तपाईले भाडा लिएको छैन, सम्झौता गरेको छैन भन्नेर जति सुकै तर्क दिए पनि आफ्नै घरमा कार्यालय संचालन हुनु नैतिक आचरणको बर्खिलाप हो l तपाई जनमतजान त् झन् शुसासन, स्वशासनको नारा बोकी सत्तामा गएको होइन ?
माननीयज्यू,
तपाईंको घरलाई कार्यालय बनाउनु, अनि आफ्नै प्रियपात्र हरुलाई कार्यालय प्रमुख, लेखापाल, चालक बनाउनु, कागजमा कर्मचारी देखाएर काम ज्यालादारीलाई थमाउनु – के यस्तै व्यवस्थापनलाई “सुधार” भनिन्छ? कि यो हो “पर्यटन उद्योगको बर्बादीमा तपाईंकै योगदान”?
हामी, तपाईंका पर्यटनप्रेमी मतदाता, यही सोध्न चाहन्छौं –
के तपाईंका लागि मन्त्रालय सुविधा कमाउने धन्दा हो कि सेवा दिने माध्यम?
के पर्यटन मन्त्रालय घरेलु उद्योग बनाउनु तपाईंको दीर्घकालीन नीति हो?
के अब सरकारका सबै कार्यालय गृह कार्यालय बनाउने तयारीमा हुनुहुन्छ?
माननीयज्यू,
आशा छ, तपाईं आफ्नो ‘घर-केन्द्रित’ सोचबाट बाहिर निस्केर सार्वजनिक हितका लागि एकपटक सार्वजनिक जिम्मेवारी सम्झनुहुन्छ। आखिर, मन्त्री हुनु भनेको नाफा कमाउने कुर्सी होइन, जनताको सेवक हुने स्थान हो ।
मेरा कयौ प्रश्नहरुले तपाईलाई असहज बनाउन सक्छ l तर म तपाईको आलोचक होइन, शुभ चिन्तक हो l तपाईको बेथितिमा त साथ् दिन सकिन्न नि l
म तपाइको विभागीय कार्यालय गैरह्नेछु, तपाईको कार्यालय प्रमुखको दर्शन गर्न l एक चोटी वहालाई दर्शन दिने निर्देशन गरिबक्सिनु l
मौसुफ कि जय होस् l
विनम्रतापूर्वक,
एउटा नागरिक,

