भदौ १२, रौतहट । समाजसेवामार्फत जन्मदिन मनाउने उदाहरण प्रस्तुत गर्दै युवा पत्रकार तथा समाजसेवी अभिमनु कुमार पटेलले आफ्नो जन्मदिन अनाथालयका बालबालिकासँग बिताएका छन् ।
रौतहटको परोहा नगरपालिका ८ मोतिपुर नरकटिया निवासी पटेलले बिहीबार गरुडा नगरपालिका ४ मा रहेको बंशीराम जयसवाल अनाथालयमा पुगेर २६ जना बालबालिकासँग जन्मदिनको खुसी साटासाट गरेका हुन् ।
मधेश मिडिया प्रा.लि. का अध्यक्ष तथा रिपोर्टर्स क्लब नेपाल मधेश प्रदेशका कोषाध्यक्ष समेत रहेका पटेलले अनाथालयका बालबालिका सँग मिठाइ बाँड्नुका साथै चामल, दाल, आलु, प्याज, तेल, साबुन, चकलेट, बिस्कुट, चाउचाउ, चिउरा, चिनी लगायत खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री अनाथालयलाई हस्तान्तरण गरेका छन् ।
“महँगो होटलमा लाखौं खर्च गर्नुभन्दा असहाय टुहुरा बालबालिकाको अनुहारमा मुस्कान ल्याउन सक्नु नै सबैभन्दा ठूलो पुण्य हो,” पत्रकार पटेलले भने ।
अनाथालयमा रहेका बालबालिकाको कठिनाइ अवलोकन गर्दै उनले थपे, “२६ जना बालबालिकालाई एकसाथ हेरचाह गर्नु कस्तो कठिन काम हो भन्ने कुरा यहाँ आएपछि अझ स्पष्ट भयो । सन्तान पाल्न नै अभिभावकलाई गाह्रो हुन्छ भने अनाथालय सञ्चालन गर्नु कति चुनौतीपूर्ण होला भन्ने बुझ्न सकिन्छ ।”
स्व. बंशीराम जयसवालले स्थापना गरेको यो अनाथालय संस्थापकको निधनपछि पनि निरन्तर सञ्चालनमा छ । त्यहाँका बालबालिकाले दैनिक खर्च जुटाउनुपर्ने चुनौती बारे पत्रकार पटेललाई जानकारी गराएका थिए ।
आफ्नो जन्मदिनमा सहयोग गर्दै समाजलाई सन्देश दिन खोजेको पत्रकार पटेलले भने, “जन्मदिन, विवाह वा कुनै पनि खुशीका अवसरमा अनावश्यक खर्च नगरी असहाय र टुहुरा बालबालिकासँग खुशी बाँड्न सकियो भने त्यो नै सबैभन्दा ठूलो सेवा हो ।”
उनको यो कार्य समाजसेवामा रुचि राख्ने अन्य युवापुस्ताका लागि समेत प्रेरणादायी बन्न सक्ने विश्वास व्यक्त गरिएको छ ।

