Tuesday, May 26, 2026

देवताल गाउँपालिकाको आवास योजनामा १ करोड बढी अनियमितताको आरोप

ताजा / भरखरै प्राप्त

भदौ ११, बारा । बारा जिल्लाको देवताल गाउँपालिका १ मा निर्माणाधीन आवास सम्बन्धी योजनामा आर्थिक अनियमितता भएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ ।

देवताल गाउँपालिका १ का वडा अध्यक्ष अरुण कुमार सिंहले आर्थिक वर्ष २०८०।८१ मा पूर्वाधार विकास कार्यालय बाराबाट सञ्चालित महेन्द्र नारायण निधि आवास कार्यक्रम अन्तर्गत गठन भएको श्री महेन्द्र नारायण निधि आवास निर्माण समितिले ३१ जना लाभग्राही लाई घर बनाउन गरेको सम्झौता अनुसार काम गरी पहिलो र दोश्रो किस्ता निकासा गरीसकेर फेरी त्यसमै केरमेट गरी १ करोड भन्दा बढी बजेट पठाएर आर्थिक अनियमितता गरेको आरोप लगाउँदै छानबिनको लागि उजुरी दिनुभएको हो ।

उनका अनुसार आवास निर्माणको लागि सरकारले पठाएको रकम निलम्बनमा परेका तत्कालीन कार्यालय प्रमुख राजेन्द्र साह, लेखापाल मुकेश प्रजापति र तत्कालिन दैनिक ज्यालादारीमा कार्यरत सब-इन्जिनियर प्रभात कुमार सिंहको समूह मिलेर २२ जना लाभग्राहीको बिना सम्झौता र अन्य कागजात पुरा नगरी फर्जी घर बनाई रकम झिकेको फेला परेको छ । समितिको राष्ट्रिय वाणिज्य बैंक शाखा कलैयाको खाता नम्बर १२६०१०००५०९६५००१ मा जम्मा गरिएको १ करोड ३२ हजार रुपैयाबाट झण्डै २० लाख रुपैयाँ निकासी गरी लाभग्राहीलाई दिनु पर्ने रकम वितरण नभएको उजुरीमा उल्लेख गरिएको छ ।

यस सम्बन्धमा आवश्यक छानबिन गरी कारबाहीको माग गर्दै उजुरी दर्ता गरिएको छ । उजुरीसँगै समितिको माइन्युट, सम्झौता पत्र र बैंक स्टेटमेन्ट समेत प्रमाणका रूपमा संलग्न गरिएको वडा अध्यक्ष सिंहले बताउनु भएको छ ।

 

spot_img

लोकप्रिय

Related Articles