Tuesday, May 26, 2026

तराईमा कम्युनिस्ट आन्दोलन रोप्ने अग्रज नेता नन्दन अर्यालको निधन

ताजा / भरखरै प्राप्त

भदौ १६, बारा । बारा, पर्सा र रौतहटमा पहिलोपटक कम्युनिष्ट आन्दोलनको विउ रोप्ने व्यक्तित्वका रूपमा परिचित वरिष्ठ नागरिक नन्दन अर्यालको ९५ वर्षको उमेरमा गएराति निधन भएको छ । लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित अर्यालको उपचारकै क्रममा काठमाडौंमा अन्तिम श्वास लिएको उनका परिवारजनले जानकारी दिएका छन् ।

सिद्धान्तनिष्ठ र समर्पित कम्युनिस्टका रूपमा चिनिने अर्यालले २०११ सालमा भएको ऐतिहासिक किसान आन्दोलनको नेतृत्व गरेका थिए । सो आन्दोलनपछि उनी क्रमशः बारा, पर्सा र रौतहटमा किसान तथा श्रमिकलाई संगठित गर्दै कम्युनिष्ट आन्दोलनलाई संस्थागत रूप दिन सक्रिय रहँदै आएका थिए।

पञ्चायतकालमा अर्याल बारम्बार राज्यको नजरमा परेर पटक–पटक उनीमाथि वारेन्ट जारी भएको थियो । उहाँ पाँचपटक सम्म जेल जीवन व्यतित गर्नुपरेको बताउनु हुन्थ्यो । जेलबाट बाहिरिएपछि पनि प्रहरीले उहाँलाई संधै निगरानीमा राख्थ्यो उहाँ प्रहरीलाई चक्मा दिन कहिले भूमिगत रहन्थे त कहिले भारततिर शरण लिनुपर्ने अवस्था आउँथ्यो । राजनीतिक गतिविधिका कारण निरन्तर जोखिमका बीच पनि उनले आफ्नो जीवन कम्युनिष्ट आन्दोलनको विस्तार र किसान–मजदुर अधिकारमा समर्पित गरेका थिए ।

उहाँको निधनले तराईका पुराना कम्युनिष्ट कार्यकर्ताहरू स्तब्ध बनेका छन् । “अर्यालजी सच्चा सिद्धान्तनिष्ठ कम्युनिस्ट हुनुहुन्थ्यो । उहाँले आन्दोलनलाई जसरी जगेर्ना गर्नुभयो, त्यसले आज पनि हाम्रो राजनीति र समाजलाई मार्गदर्शन गर्छ,” उनका नजिकका नेताहरु बताउँछन् ।

उनको शव अहिले पशुपति आर्यघाटमा लगिएको र आजै अन्त्येष्टि गरिने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

spot_img

लोकप्रिय

Related Articles