भदौ १८, बारा । रुपन्देही क्षेत्र नम्बर–३ मा हुन लागेको उपनिर्वाचनलाई लक्षित गर्दै आनन्द शर्माले आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन् । तर उनले कुन राजनीतिक दलको तर्फबाट चुनाव लड्ने भन्ने विषय भने अझै स्पष्ट पारेका छैनन् ।
शर्माले देशभर मौलाएको भ्रष्टाचार, अन्याय र अत्याचारको अन्त्य गर्दै विकासको गंगा बगाउन र स्थानीय जनतालाई रोजगारीका अवसर सिर्जना गर्न आफू उम्मेदवार बन्न लागेको बताएका छन् । “देशमा बगिरहेको भ्रष्टाचारको समुद्रमा विकासको गंगा बहाउन र रुपन्देहीका जनतालाई रोजगार दिलाउन म उम्मेदवार बनेको हुँ,” उनले भने ।
उम्मेदवारी घोषणा गर्दै शर्माले रुपन्देही–३ का जनतासँगै आफ्ना आफन्त, ईष्टमित्र, संचारकर्मी र उपनिर्वाचनसँग सरोकार राख्ने सम्पूर्ण व्यक्तिहरूलाई साथ, सहयोग, समर्थन र आशीर्वाद दिन आग्रह गरेका छन् ।
शर्मा बारा जिल्ला, कलैया उपमहानगरपालिका–६ निवासी हुन् । करिब १५ वर्ष संचारकर्मीको रूपमा क्रियाशील रहेका उनी पछिल्ला वर्षहरूमा संचार उद्यमी तथा आफ्नै व्यवसायमार्फत सक्रिय रहेका छन् ।
रुपन्देही–३ को उपनिर्वाचनमा विभिन्न दलका उम्मेदवारबिच चर्को प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । शर्मा कुन दलको टिकट लिएर चुनावी मैदानमा उत्रिन्छन् भन्ने प्रतीक्षामा स्थानीय मतदाता र राजनीतिक वृत्त छन् ।

