असोज २७, बारा । बारामा आज सोमबारदेखि हैजाविरुद्धको खोप अभियान औपचारिक रूपमा सुरु भएको छ । जिल्लाका जोखिमयुक्त क्षेत्रमा हैजाको फैलावट रोकथाम गर्ने उद्देश्यले सञ्चालन गरिएको यो अभियान असोज २७ गतेदेखि कात्तिक २ गतेसम्म चल्ने जनस्वास्थ्य कार्यालय बाराले जनाएको छ ।
अभियान अन्तर्गत कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, फेटा, विश्रामपुर, प्रसौनी र परवानीपुर गाउँपालिकाका ७५ वटा वडामा खोप वितरण सुरु गरिएको हो । जनस्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश राय यादवका अनुसार अभियानमा एक वर्ष उमेर पूरा गरेका र सो भन्दा माथिका ३ लाख ६५ हजार ९ सय ३१ जनालाई हैजाविरुद्धको खोप दिने लक्ष्य राखिएको छ ।
प्रमुख यादवका अनुसार खोप अभियानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको र स्थानीय तहहरूसँग समन्वयमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवक र स्थानीय स्वयंसेवी संस्थाहरूलाई परिचालन गरिएको छ ।
बारामा पछिल्ला वर्षहरूमा खानेपानी र सरसफाइको अवस्थाका कारण हैजाको जोखिम बढ्दै गएको छ । यसपटकको अभियानले जोखिम न्यूनीकरण र जनस्वास्थ्य संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

