चञ्चल कुमार झा, रौतहट। चैत ११। श्रद्धा र आस्थाका साथ मनाइने चैती छठ पर्व बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सम्पन्न भएको छ।
राैतहट सहित मधेश प्रदेशभरका नदी, पोखरी र नहर सहितका जलाशयमा छठ घाट नीर्माण गरि मंगलबार संझिया घाट अर्थात अस्ताउदै गरेकाे सुर्यलाई अर्घ्य दिईएकाे थियाे भने बुधबार उदाउँदो सुर्यलाई अर्घ्य दिएसंगै यस वर्षको चैती छठ महापर्व विधिपुर्वक सम्पन्न भएको छ ।
चार दिनसम्म चल्ने यो पर्व चैत शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधिबाट सुरु भएको थियो। साेमवार खरना र मंगलबार धार्मिक विधि अनुसार षष्ठी तिथिमा निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई र बुधबार उदाउँदो सुर्यलाई अर्घ्य’ दिएसंगै चैती छठ सम्पन्न भएको छ ।
पर्वलाई विशेष बनाउन रौतहटका बागमती ,लालबकैया, झाँझ नदी किनारसँगै नहर,पाेखरी र आफ्नै घर अगाडिकाे जलाशयमा रंगीचंगी घाटहरू सजाइएकाे थियाे।
सन्तान प्राप्ति, रोगबाट मुक्ति र पारिवारिक समृद्धिको कामना गर्दै मनाइने छठका कारण गाउँदेखि सहरसम्म धार्मिक माहोल बनेको देखिएको छ।
छठ पर्वमा सूर्यदेव र छठी माइको पूजा गर्दै ठेकुवा, भुसवा, केरा, उखु, फलफूल,नारियल,बतासा लगायतका सामाग्री प्रसादका रूपमा अर्पण गर्ने चलन रहेकाे छ । चार दिनकाे कठिन पर्व छट बुधबार बिहानको अर्घ्यपछि व्रतालुहरूले पारण गरी आफन्त र छिमेकीबीच प्रसाद बाँडेेर समापन गर्नु भएको छ ।
छठपर्व वर्षमा दुई पटक कात्तिक र चैत महिनामा मनाइने मधेसकाे प्रमुख सांस्कृतिक पर्वमध्ये एक रहेकाेमा अहिले देशका अधिकांश ठाउँहरुमा व्रतालुहरु छठ पर्व मनाउँदै आउनु भएका छन् । कात्तिक महिनाकाे छठको तुलनामा चैती छठ गर्ने व्रतालुकाे संख्या विगतमा कम भए पनि पछिल्ला वर्षहरूमा छठ पर्व गर्ने व्रतालु बढ्दै गएको देखिएकाे छ।

