हनुमत यादव ।। रौतहट, १५ चैत ।। रौतहटको राजदेवी नगरपालिकाद्वारा आयोजित ‘मेयर कप २०८२’ अन्तर्गत आज सम्पन्न खेलहरूमा वडा नं ९ र वडा नं ६ विजयी भएका छन् ।
आजको पहिलो भएको खेल वडा नं ७ र वडा नं ९ बीच प्रतिस्पर्धा भएको थियो । टस जितेर पहिले ब्याटिङ रोजेको वडा नं ९ ले निर्धारित ओभरमा सन्तोषजनक स्कोर खडा गरेको थियो । जवाफी पारीमा उत्रिएको वडा नं ७ को टोली भने दबाबमा देखियो र १८औँ ओभरमै सबै विकेट गुमाउँदै लक्ष्य भेट्न असफल रह्यो । यससँगै वडा नं ९ ले सहज जित दर्ता गर्यो ।

दोस्रो खेल वडा नं ८ र वडा नं ६ बीच खेलिएको थियो । पहिले ब्याटिङ गरेको वडा नं ६ ले २० ओभरमा सबै विकेट गुमाउँदै १३९ रनको मध्यम लक्ष्य प्रस्तुत गर्यो । १४० रनको लक्ष्य पछ्याएको वडा नं ८ ले सुरुवात राम्रो गरे पनि अन्त्यसम्म लय कायम राख्न सकेन । १९औँ ओभरमा सबै विकेट गुमाउँदै १३५ रनमै समेटिएपछि वडा नं ६ ले रोमाञ्चक जित हात पार्यो ।
प्रतियोगिताअन्तर्गत आगामी खेलहरू पनि उत्तिकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

