चञ्चल कुमार झा
रौतहट । चैत १७ । घुस रकम सहित जिल्ला अदालत राैतहटकाे एक जना कर्मचारीलाई अख्तियारकाे टाेलीले रंगेहात पक्राउ गरेको छ ।
रौतहट जिल्ला अदालत गौरमा कार्यरत डिठ्ठा लव कुमार सिंहलाई घुस लिइरहेको अवस्थामा पक्राउ रंगेहात पक्राउ गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले सेवाग्राहीसँग नगद ५० हजार घुस लिइसकेको अवस्थामा अदालतका कर्मचारी सिंहलाई नियन्त्रणमा लिएको हो।
आयोगका अनुसार अदालतको फैसलाबमोजिम दर्ता-खारेजी (दा.खा.) पुर्जी गरी जग्गा फुकुवा गराइदिने नाममा सेवाग्राहीसँग घुस रकम मांग गरिएको भने उजुरी आयाेगमा पिडितले दिएको थियाे ।
प्राप्त सूचना तथा उजुरीका आधारमा अख्तियारकाे टाेलीले कारबाही स्वरुप अदालतमा आएर रंगेहात कर्मचारी सिंहलाई नियन्त्रणमा लिएको हो।
पक्राउका क्रममा डिठ्ठा सिंहबाट घुस रकम ५० हजार तथा एक थान मोबाइलसमेत बरामद गरिएको आयोगले जनाएको छ। सिंहलाई राैतहटकाे सदरमुकाम गाैरमा रहककाे रौतहट जिल्ला अदालत परिसरबाट नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

