Tuesday, May 26, 2026

सेवाग्राहीबाट रकम असुल्ने ५ जना पक्राउ

ताजा / भरखरै प्राप्त

रौतहट । चैत २० ।राैतहटकाे गौरस्थित मालपोत कार्यालय लगायत विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीलाई अनावश्यक झन्झटमा पार्दै “छिटो काम गराइदिन्छु” भन्दै रकम असुल्ने बिचौलिया समूहविरुद्ध प्रहरीले कडा कारबाही गरेको छ।
विभिन्न प्रलोभनमा पारेर सहज तरिकाले काम गराईदिने  कार्यमा संलग्न पाँच जनालाई विभिन्न ठाउँबाट जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पक्राउ गरेको छ ।
राैतहट प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब १२ बजे गौर नगरपालिका वडा नं. ४ स्थित बसपार्क, वडा नं. ३ स्थित जिल्ला अदालत तथा वडा नं. ५ स्थित मालपोत कार्यालयमा सेवाग्राहीलाई हैरानी दिइरहेको सूचनाका आधारमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी निरीक्षक जीवन कुमार मैनालीले जानकारी दिनु भएको  छ ।
लामो समयदेखि मालपोत कार्यालय परिसरमा सक्रिय बिचौलिया समूहले जग्गा पास, किनबेच लगायतका कामका लागि आउने सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाउँदै काम छिटो गराइदिने बहानामा रकम असुल्ने गरेको गुनासो बढ्दै गएपछि प्रहरीले निगरानी बढाएको थियो।
सेवाग्राहीका कागजात बोकेर विभिन्न फाँटमा धाउने, अनावश्यक झन्झट सिर्जना गर्ने तथा सो वापत अनुचित लाभ लिने कार्यमा संलग्न रहेको पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।
विभिन्न कार्यालयमा सेवाग्राहीलाई दुख दिने र काम गराई दिने बहानामा सेवाग्राहीबाट रकम असुल गर्ने यमुनामाई गाउँपालिका–२ निवासी अन्दाजी २८ वर्षीय सिकित नारायण, राजदेवी नगरपालिका–७ निवासी अन्दाजी २४ वर्षीय बब्लु प्रसाद यादव, सोही स्थानका अन्दाजी ३० वर्षीय श्याम बिहारी यादव, परोहा नगरपालिका–७ निवासी अन्दाजी ३९ वर्षीय रामनरेश प्रसाद पटेल र गौर नगरपालिका–८ निवासी अन्दाजी ६० वर्षीय राजेन्द्र राउत बरैलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
मालपोत कार्यालय परिसरमा कार्यालय खुल्ने समयदेखि नै सक्रिय रहने यस्ता समूहले सेवाग्राहीलाई लक्षित गर्दै ठगी गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ। शुक्रबार गरिएको यस कारबाहीपछि मालपोत कार्यालयमा अड्डा जमाएर बस्ने अन्य ठगी गर्ने समुहमा समेत त्रास फैलिएको छ।
पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

spot_img

लोकप्रिय

Related Articles