काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ६,१४५ मिटर उचाइको लोबुचे हिमालको सफल आरोहण गरेका छन्। उनले पाँच युवा साथीसहित मंसिर २१ गते खुम्बु क्षेत्रमा आरोहण सुरु गरेका थिए र मंसिर २८ गते बिहान ६ः४५ बजे चुचुरोमा पुगे।
यो आरोहण नेपालको हिमालहरूको सौन्दर्य र जलवायु परिवर्तनको प्रभावलाई उजागर गर्ने उद्देश्यले गरिएको हो। महामन्त्री शर्मा यस आरोहणलाई केवल व्यक्तिगत साहसिक यात्राको रूपमा नभई सामाजिक, पर्यावरणीय, र राजनीतिक चेतनाको माध्यमका रूपमा प्रस्तुत गरेका छन्।
शर्माले यो आरोहणले जलवायु परिवर्तन, हिमाली समुदायको सम्मान, आन्तरिक पर्यटनको प्रवर्द्धन, संसद् सुधार, सामाजिक विकृतिका विरुद्ध आवाज उठाउने, भ्रष्टाचारविरुद्ध कडा कदम र स्थिर संसदीय प्रणालीको खोजी जस्ता गहिरा सन्देशहरू प्रवाह गरेको बताए।
यो आरोहण संसद् दिवसको अवसरमा गरिएको थियो, जसले सांसद र सरकारलाई वातावरणीय मुद्दाप्रति जिम्मेवार बनाउन प्रेरित गर्ने र नागरिकको विश्वासलाई सुदृढ गर्ने प्रयास गरेको शर्माले जनाएका छन्। टोलीमा अनुसन्धानकर्ता प्रकाश लामिछाने, इन्जिनियर सुभाष अधिकारी, पदम शर्मा, कीर्तिमानी आरोही मिङ्मा शेर्पा र लाक्पा शेर्पाको सहभागिता थियो। आरोहणको व्यवस्थापन सेभेन समिट ट्रेक्सले गरेको थियो। महामन्त्री शर्मा संघीय संसदका दुवै सदनको वर्तमान कार्यकालका तर्फबाट लोबुचे हिमाल आरोहण गर्ने पहिलो सांसद बनेका छन्।

