काठमाडौं – २४ वर्षदेखि निरन्तर डिजेलबाट चल्ने माइक्रो र ठूला बस चलाउँदै आएको सामाखुसी यातायात प्रालिले अब बिजुली गाडीमा यात्रा मोडेको छ। बिहीबारदेखि प्रालिले डिजेल माइक्रोबसहरूको सट्टा २० वटा बिजुली माइक्रोबस थपेको छ।
सामाखुसी यातायातका अध्यक्ष सानुकाजी प्रजापतिका अनुसार १० करोड ३० लाख रुपैयाँ लगानीमा यी बिजुली गाडीहरू थपिएका छन्। अहिले कम्पनीले एनएसी (सुन्धारा/न्यूरोड गेट) र रत्नपार्कबाट बानियाँटार, झोर, टोखा, मनमैजु, म्हैपी र सूर्यदर्शन हाइट लगायतका स्थानमा यी गाडीहरू चलाइरहेको छ।
सामाखुसी यातायातले २०५७ सालदेखि सार्वजनिक यातायात सेवा प्रदान गर्दै आएको हो। कम्पनीले हाल ८० वटा माइक्रो र ५० भन्दा बढी ठूला बस सञ्चालन गर्दै आएको प्रजापतिले बताए।
प्रजापति अनुसार, २० वर्ष पुराना गाडी चलाउने नपाउने सरकारी नियमको पालना गर्दै गाडीहरू प्रतिस्थापन गरिएको हो। भविष्यमा अझ बढी बिजुली गाडी थप्ने योजना रहेको उनले जनाए।
सामाखुसी यातायातले हाल ३ सयभन्दा धेरैलाई रोजगारको अवसर समेत प्रदान गरेको छ।

