जेठ ३१, बारा । मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार, पर्यट्न, खेलकुद लगायतका मन्त्रालयबाट बारामा संचालन भईरहेका योजनाहरुमा ठेकेदारहरुले हाकाहाकी ब्रह्मलुट मच्चाएका छन् । ठेकेदारहरुले कागजी प्रकृया पुर्याउनका लागि नामको मात्र उपभोक्ता समिति बनाई योजनाहरु आफुखुशी संचालन गरीरहेको पाईएको छ ।
यसको एउटा प्रत्यक्ष उदाहारण हो भौतिक पूर्वाधार विकास मन्त्रालय बाट सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ मा पूर्व मूख्यमन्त्री सरोज कुमार यादवको सिफारीसमा संचालन भईरहेको गंगानगर बमनहर देखी नयकाटोला जाने नहरको सडक ढलान योजना । ४५ लाख रुपैया बजेट रहेको यो योजनाको उपभोक्ता समिति गठन गरी त्यहींका ठेकेदार राजकिशोर कुशवाहाले निर्माण कार्य गरिरहेका छन् ।
निर्माण कार्यको काम सुरुवात गर्दा पूर्वाधार विकास कार्यालय बाराका त्यस भेगका साईट इन्जिनियर आरती चौधरीलाई जानकारी नै नगराई सुरुवात गरेको पाईएको छ ।
योजना संचालन गर्दा कुनै किसीमको योजना सम्बन्धी जानकारी सहितको बोर्ड नराखेका ठेकेदारले भने स्थानीयहरुले विरोध गर्दा पूर्वमूख्यमन्त्री यादवको धाक लगाउने गरेको स्थानीयहरु बताउँछन् । ठेकेदार राजकिशोर कुशवाहाले गुणस्तरहिन निर्माण कार्य गरीरहेको पाएपछि स्थानीय युवाहरुले विरोध जनाउँदा ठेकेदारले पावरको दम्भ देखाएर आफुखुशी गरेको स्थानीय यूवा तथा न्यू समृद्ध यूवा क्लबका उपाध्यक्ष महाराज यादवले बताएका छन् ।
त्यस्तै किसान जनमत संघका अध्यक्ष गगनदेव कुशवाहाले पनि ठेकेदारले गुणस्तरहिन काम गरीरहेको बताएका छन् । उपभोक्ता समिति कागजमा बनाई बिना कुनै सूचना तथा जानकारीको ठेकेदारहरुले निर्माण कार्य गरी भ्रष्टाचार गरिरहेको उनले बताए ।
तर ठेकेदार राजकिशोर कुशवाहाले भने बोर्ड छाप्नलाई दिएको र ईष्टिमेट अनुसार काम भइरहेको बताएका छन् ।
ठेकेदारले काम राम्रो गरीरहेको भनिरहंदा पूर्वाधार विकास कार्यालयका ईन्जिनियर आरती चौधरीले भने ठेकेदारको काम देखेर चित्त नबुझेको प्रतिक्रिया दिनुभएको छ । साईट ईन्जिनियर चौधरीले भनिन् “मलाई बिना जानकारी गराई काम सुरु गरेको पाईएको छ । ठेकेदारले सुरुको ढलान विगारेको सूचना आएपछि योजनास्थलमा पुगेर सच्याउन भने त्यसपछि सच्याएका छन् ।”
तर पहिला भएको ढलानको मूल्यांकन पनि घटाएर बिल बनाउने उनले बताउनु भयो ।

