Tuesday, May 26, 2026

कटहरिया नगरपालिकाद्वारा ५४ करोड २५ लाखको बजेट सार्वजनिक, पूर्वाधार तथा समग्र विकासमा जोड

ताजा / भरखरै प्राप्त

असार ०३, बारा । रौतहटको कटहरिया नगरपालिकाले आर्थिक वर्ष २०८२।०८३ का लागि ५४ करोड २५ लाख ५२ हजार रुपैयाँको आय(व्यय विवरण सहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

नगरपालिकाको प्राङ्गणमा मंगलबार सम्पन्न एघारौं नगरसभा तथा बजेट अधिवेशनमा नगरप्रमुख अजय प्रकाश जयसवालले अध्यक्षता गरेको सभा मार्फत प्रस्तुत गरिएको बजेटले नगरको समग्र विकास, पूर्वाधार सुदृढीकरण, सेवा प्रवाह विस्तार तथा सामाजिक न्यायलाई प्राथमिकतामा राखेको जनाइएको छ ।

नगरप्रमुख जयसवालद्वारा सार्वजनिक बजेट विवरण अनुसार कुल आय मध्ये आन्तरिक आम्दानीबाट ४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यस्तै, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत १० करोड ९९ लाख, सशर्त अनुदानबाट २० करोड ३२ लाख ५० हजार ९७२ रुपैयाँ प्राप्त हुने उल्लेख छ ।

त्यस्तै, संघीय सरकारबाट राजस्व बाँडफाँटमार्फत १० करोड २८ लाख ६१ हजार ३७१ रुपैयाँ प्राप्त हुनेछ भने प्रदेश सरकारबाट वित्तीय समानीकरण शीर्षकमा ७५ लाख ६५ हजार, राजस्व बाँडफाँटबाट ६१ लाख ७४ हजार ८ सय ९० र स्थानीय सरकार राजस्व बाँडफाँटबाट ७ करोड २८ लाख २ सय ४२ रुपैयाँ प्राप्त हुने उल्लेख रहेको छ ।

नगरप्रमुख जयसवालले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, स्वच्छ खानेपानी, वातावरण संरक्षण, सामाजिक समावेशिता तथा रोजगार सिर्जना जस्ता क्षेत्रमा विशेष प्राथमिकता दिइएको छ ।

सभामा बोल्दै प्रमुख जयसवालले भने, “नगरको दिगो विकास सुनिश्चित गर्न बजेटको वितरणमा विशेष ध्यान दिइएको छ। आगामी वर्ष नगरवासीलाई प्रत्यक्ष लाभ पुर्‍याउने योजनाहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता लिएको छौं।”

नगरसभामा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, पत्रकार तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

spot_img

लोकप्रिय

Related Articles