धर्मेन्द्र कुमार साह
साउन २४, रौतहट । रौतहट जिल्लाका विभिन्न नगरपालिकामा कार्यरत नगर प्रहरीको कार्यक्षमता र आवश्यकतामाथि प्रश्न उठेको छ । लाखौं रुपैयाँ खर्च गरेर नगर प्रहरी भर्ना गरिए पनि, अधिकांश समय उनीहरू कार्यालय परिसरमै सीमित हुने गरेको स्थानीयवासीको आरोप छ ।
ईशनाथ नगरपालिकामा हाल १३ जना नगर प्रहरी छन् । नगरपालिकाले उनीहरूको सेवा–सुविधामा मासिक करिब २ लाख ८ हजार रुपैयाँ र वार्षिक रूपमा दशैं भत्ता सहित करिब २७ लाख रुपैयाँ खर्च गर्दै आएको छ । तर चाडपर्व बाहेक उनीहरूको दैनिकी कार्यालय वरिपरि नै बित्ने गरेको पाइएको छ । मासिक १६ हजार तलबमा भर्ना भएका नगर प्रहरीलाई पर्याप्त जिम्मेवारी नदिनु पालिकाको कमजोरी भएको स्थानीय समाजसेवी शेख असदले टिप्पणी गरे ।
“नगर प्रहरी आवश्यक छन्, तर भर्ना भएका जनशक्तिबाट पूर्ण रूपमा काम लिन नसक्नु समस्या हो,” असदले भने ।
ईशनाथका लेखा अधिकृत मनोज ठाकुरका अनुसार पहिले २१ जना नगर प्रहरी भए पनि अहिले संख्या घटाएर १३ जनामा ल्याइएको हो । उनका अनुसार दशैं–तिहार, स्थानीय मेला तथा कार्यालय सुरक्षामा उनीहरू खटाइन्छन् । तर, सोही नगरपालिकाका एक कर्मचारीले नाम नखुलाउने सर्तमा, चाडपर्व बाहेक प्रशासकीय अधिकृत र नगर प्रमुखको व्यक्तिगत काममा नगर प्रहरी प्रयोग हुने गरेको आरोप लगाए ।
राजदेवी नगरपालिकामा पनि ५ वर्षदेखि १० जना नगर प्रहरी भर्ना गरिएको छ । मासिक करिब १ लाख ८० हजार खर्च भए पनि ग्रामीण क्षेत्रमा रहेको नगरपालिकाले उनीहरूलाई पर्याप्त खटाउन नसकेको प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले स्वीकार गरे । उनले नगर प्रहरीलाई विपद् सम्बन्धी तालिम दिइएको र सामान्य विवाद समाधान तथा न्यायिक समितिमा भूमिका दिने गरेको दाबी गरे । तर स्थानीय समाजसेवी नविन सिंहले ग्रामीण पालिकामा नगर प्रहरीभन्दा शिक्षक वा स्वास्थ्यकर्मी भर्ना गर्नु उपयुक्त हुने सुझाव दिए । उनका अनुसार दलगत आधारमा भर्ना हुने र अधिकांश स्थानीय हुने भएकाले नगर प्रहरीलाई प्रभावकारी रूपमा परिचालन गर्न गाह्रो भएको छ ।
राजपुर नगरपालिकाले २८ मध्ये हाल २६ जना नगर प्रहरी राखेको छ । मासिक १८ हजार तलब पाउने यी प्रहरीमाथि पालिकाले मासिक करिब ४ लाख ६० हजार खर्च गरिरहेको छ । त्यस्तै, बौधिमाई नगरपालिकामा दुई वर्षअघि मात्रै १० जना नगर प्रहरी भर्ना गरिएको हो, जसको वार्षिक खर्च २० लाख रुपैयाँभन्दा बढी रहेको लेखापाल अरविन्द यादवले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्व अध्यक्ष प्रेमचन्द्र झाले नगरपालिकाले नगर प्रहरीलाई विशेष योजना अनुसार परिचालन गर्नुपर्नेमा जोड दिए । “ग्रामिण क्षेत्रमा पनि नगर प्रहरीको महत्वपूर्ण भूमिका हुन सक्छ,” उनले भने, “सडक र वस्तीहरू अतिक्रमणमुक्त बनाउने, सडकमा बाँधिएका घरपालुवा जनावर व्यवस्थापनजस्ता अभियानमा उनीहरूलाई प्रयोग गर्न सकिन्छ ।” उनले कतिपय पालिकाले नगर प्रहरीको नाममा पार्टी कार्यकर्ता भर्ना गर्ने प्रवृत्तिले पनि समस्या गहिराएको दाबी गरे ।

