धर्मेन्द्र कुमार साह
साउन २६, रौतहट । रकम अभाव भए पछी प्रादेशिक अस्पताल गौरले बिरामीहरुलाई दिदै आएको खाना बन्द गर्ने भएको छ l अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष अनवर हासमीले आफ्नो सामाजिक संजाल मार्फत रकम अभाव भएकोले अस्पतालमा भर्ना हुने बिरामीहरुले पाउदै आएको खाना लगायतका सुविधाहरु बन्द गर्न लागेको जनाएको छ l
“मधेश प्रदेशको अर्थ मन्त्री ज्यू र रौतहट जिल्ला कै मन्त्री हुनुको कारण प्रादेशिक अस्पताल गौरमा खाद्यान्न को लागी आउने पैसा रोकेको कारण बिरामीहरुले खादै आईरहेको खाना,दूध,अंन्डा,बिस्कुट अब २०८२/०४/२५ गते देखि बन्द हुदैछ भन्ने सम्पूर्ण रौतहट बासीहरूलाई बड़ो दुखको साथ जानकारी दिन चाहन्नछु ।२०८१/२०८२ को बाकी रकम ३२ लाख जती तिर्रनु छ l” उनले फेसबुकमा लेखेका छन् l
प्रादेशिक अस्पताल गौरमा गत आर्थिक वर्ष २०८१/८२ मा खानाको ठेक्का पाएका गुप्ता सप्लायर्सलाई ३१ लाख ६७ हजार रुपैया बाकी रहेको अस्पतालका लेखापाल जितेन्द्र यादवले बताए l चालु आर्थिक वर्षको लागि प्रदेश सरकारले १० लाख रुपैया मात्रै बिनियोजन गरेको भन्दै अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष अनवर हास्मीले आरोप लगाएको छ l
उनले प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत प्राप्त हुने बजेट कटौती भएको बेला अस्पतालले अप्रिय निर्णय लिनु परेको बताए l आफुले गत् आर्थिक वर्षको क्रममा स्वास्थ्य मन्त्रालयमा दौडधुप गरि बक्यौता बमोजिमको रकम निकासा गर्न ताकेता गरेको र मन्त्रालयबाट आवस्यक प्रक्रिया अगाडी बढाईए पनि अर्थ मन्त्रालयको उदासिनताको कारण रकम निकासा हुन् नसको बताए l
रकम निकासा गर्न प्रक्रिया सबै पुरा, अर्थ मन्त्रीको तजबिजमा रकम निकासा भएन
गत आर्थिक वर्ष २०८१/०८२ मा बिरामीको खानाको लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० लाख रुपैया बिनियोजन गरेका थिए l तर अस्पतालमा बिरामीको संख्या बढ्दै गएपछि रकम अभाव देखियो l अस्पतालमा खानाको ठेक्का पाएका गुप्ता सप्लायर्सको बक्यौता रकम बढ्दै गए पछी २०८१ जेठ महिनामा गौर अस्पताल प्रशासनले थप रकम विनियोजनको लागि मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय संग प्रक्रिया सुरु गरेको थियो l गौर अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा २०८२ जेठ २ गते चलानी नम्बर २२९२ को पत्रबाट थप चौतिस लाख रुपैया पठाईदिन मांग गरेको देखिन्छ l सोहि पत्रको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थ मन्त्रालयको नाउमा टिप्पणी सहित मांग बमोजिमको रकम निकासा गर्न पत्राचार गरेको थियो l उक्त पत्र अर्थ मन्त्रालयमा २०८२ जेठ १३ गते २४५३ दर्ता नम्बरमा दर्ता भएको थियो l प्रक्रिया पुर्याए पनि अर्थ मन्त्रालयको तजबिज को आधारमा रकम निकासा हुन् सकेन l
“ अर्थ मन्त्रि ज्युले सधै दुइ तिन दिन भित्रै निकासा हुने बताउदै आए तर अन्तिम समयमा आएर आफ्नो फोन उठाउन बन्द गरे l आफ्नै गृह जिल्लाको अस्पतालमा बिरामीले पाउदै आएको खाना बन्द हुन् लागेको अवस्थामा पनि अर्थमन्त्रीको गम्भीरता देखिएन l “अध्यक्ष हासमिले आरोप लगाए l
हाल नेपालि कांग्रेसको तर्फबाट सुनिक कुमार यादव अर्थ मन्त्रि छन् l उनि रौतहटबात निर्वाचित प्रदेश सभा सदस्य हुन् l
यस बारेमा बुझ्न खोज्दा मधेश प्रदेश अर्थ मन्त्रालयका प्रवक्ता उपेन्द्र न्यौपानेले आफुलाई प्रष्ट कारण थाहा नभएको बताउदै विनियोजित बजेटको सिलिंग भन्दा धेरै खर्च भएकोले रकम निकासा हुन नसकेको आसंका व्यक्त गरे l
राजनैतिक दल द्वारा आन्दोलनको चेतावनी
यसै बीच अस्पतालमा बिरामीले पाउदै आएको सेवा बन्द हुने खबर सार्वजनिक भए पछी रौतहटका राजनैतिक दलहरुले आन्दोलनको चेतावनी दिएको छ l नेकपा एसका नेता रेवन्त झाले प्रदेश सरकारले सामान्य दायित्व समेत पुरा गर्न नसके बोर्डमा प्रदेश सरकार किन लेख्ने भन्ने प्रश्न गरेको छ l उनले समस्याको अबिलम्ब समाधान नभए अस्पतालको आपतकालीन बाहेक सबै सेवा बन्द गर्न र प्रदेश सरकारलाई जिम्मेवार बन्न सुझाव दिए l

