Tuesday, May 26, 2026

बोर्डरमा तस्करको रजाइ, भारतीय कुखुराले बजार पाउँदा नेपाली व्यवसायी मारमा

ताजा / भरखरै प्राप्त

धर्मेन्द्र कुमार साह
भदौ ०२, रौतहट । सिमावर्ती क्षेत्र हुँदै भारतीय कुखुराको तस्करी बढेपछि नेपाली कुखुरा व्यवसायीहरू मारमा परेका छन् । भारतीय कुखुरा अबैध रूपमा नेपाल भित्रिन थालेपछि स्थानीय किसान र व्यवसायीहरूले बजार गुमाउँदै ठूलो घाटा बेहोर्न बाध्य भएका हुन् ।

यसै विषयमा जिल्ला कुखुरा व्यवसायी किसान संघ, रौतहटले सोमबार जिल्ला प्रशासन कार्यालय गौरमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै तस्करी नियन्त्रण गर्न माग गरेको छ । संघका अध्यक्ष उमाशंकर साह, सचिव राधेश्याम साहलगायतका किसानहरूले तस्करीमा संलग्न व्यक्तिहरूलाई कडाईका साथ कारबाही गर्न, सीमा नाकामा निगरानी कडा बनाउन र नेपाली कुखुरा पालक किसानको संरक्षणका लागि विशेष पहल गर्न प्रशासनलाई आग्रह गरेका छन् ।

संघका सचिव राधेश्याम साहले भारतीय कुखुरा सस्तो भएकै कारण नेपाली बजारमा प्रतिस्पर्धा असम्भव भएको बताए । “भारतमा कुखुराको मूल्य किलोको करिब १५० रुपैयाँ मात्र पर्छ । यस्तो अवस्थामा नेपाली किसानलाई घाटा बेहोरिरहँदा तस्करीले अझ ठूलो संकट निम्त्याएको छ,” उनले भने। साहले सीमा क्षेत्रमा प्रहरी युनिट र तस्करबीच मिलेमतो हुन सक्ने आशंका पनि व्यक्त गरे ।

नेपाली फर्म, तर कुखुरा भारतीय

संघका अध्यक्ष उमाशंकर साहका अनुसार पछिल्लो समय तस्करीको तरिका परिवर्तन भएको छ । तस्करी मार्फत भारतबाट ल्याइएका कुखुरा नेपाली फार्महरूमा राखेर ‘नेपाली उत्पादन’ देखाउँदै बिल काट्ने गरिएको आरोप उनले लगाए । “साँझतिर खाली देखिने फर्म बिहानै भरिने गरेको छ । यसरी भारतीय कुखुरा रातारात नेपाली बन्ने गरेको छ,” उनले भने ।

रौतहटको रामपुरखाप, नरकटिया मोतिपुर, परोहा, बंकुल, लक्ष्मीपुर, ब्रह्मपुरीलगायतका सीमा नाकाबाट कुखुराको तस्करी भइरहेको संघले दाबी गरेको छ ।

प्रशासन सक्रिय

यसैबीच तस्करी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले विशेष टोली परिचालन गर्ने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण निधि तिवारीलाई फोकल पर्सन तोक्दै प्रशासनले टोली परिचालन गर्ने तयारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी विनोद खडकाले सीमा क्षेत्रमा तैनाथ प्रहरी युनिटलाई गस्ती कडाइका साथ बढाउन निर्देशन दिँदै प्रशासनको टोली पनि सक्रिय हुने जानकारी दिएका छन् ।

spot_img

लोकप्रिय

Related Articles